• ८ पुस २०८१, सोमबार

ऐन संशोधनको माग गर्दै शिक्षकले बुझाए ध्यानाकर्षण

blog

वासुदेव शर्मा 

जाजरकोट, माघ १७ गते  । शिक्षा ऐन संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक महासङ्घ जाजरकोटले भेरी नगरपालिका समक्ष पाँच वर्ष पहिले निर्माण गरेको स्थानीय शिक्षा ऐनमा कतिपय बुँदा सङ्घीय शिक्षा ऐनसँग मिल्ने हचुवाको भरमा बनाइएकाले ऐन संशोधनका लागी माग गदै ज्ञापनपत्र बुझाएको हो । 

 नेपाल शिक्षक महासङ्घले नगरप्रमुख चन्द्रप्रकाश घर्तीसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय शिक्षा ऐन २०७४ को दफा १६ संशोधन गरी सम्बन्धित नेपाल शिक्षक महासङ्घको समितिबाट तोकिएको प्रतिनिधि नगर शिक्षा समितिको सदस्य रहने व्यवस्था, ऐनको दफा १९ संशोधन गरी विद्यालय व्यवस्थापन समिति सदस्यमा सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक प्रतिनिधि सदस्य र सम्बन्धित विद्यालयमा गठन गरिएको बाल क्लबको अध्यक्ष अथवा प्रतिनिधि सदस्य बस्न पाउने नीतिगत व्यवस्था, दफा ३१ को उपदफा ३ मा उल्लेखित भएको राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई कार्यसम्पादनका आधारमा प्रत्येक छ महिनामा म्याद थप्ने व्यवस्था संशोधन गरी सङ्घीय नीति अनुसार व्यवस्थापन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

नेपाल शिक्षक महासङ्घ भेरी नगर समितिले  भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती समक्ष शैक्षिक सुधारका लागी सङ्घीय ऐनसँग बाझिने बुँदा आगामी हिउँदे नगर सभा तथा विधान सभाबाट संशोधन गरी शिक्षा क्षेत्रलाई सुधार गर्न नगर प्रमुखसमक्ष ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक महासङ्घका सचिव टेकबहादुर थापाले बताउनुभयो । 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष रुद्रबहादुर वली र सचिव टेकबहादुर थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुभ्दै नगरप्रमुख घर्तीले कार्यपालिमा पेस गरी उचित सम्बोधन गर्ने बताउनु भयो । 

सङ्घीय शिक्षा ऐन २०२८ सँग बाझिने भेरी नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ का केही दफा उपदफा संशोधन प्रक्रिया बढाउन पेसागत हक हित र शैक्षिक सुधारका लागी नगर सरकारलाई ध्यानाकर्षण गरेको अध्यक्ष वलीले बताउनुभयो ।