• २५ जेठ २०८२, आइतबार

भूकम्प आउने हल्लाले रातभर जाग्राम

blog

सिमकोट गाउँपालिका–५ को काठेचुलीमा राति आगो तापेर घरबाहिर बस्दै स्थानीय । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, माघ १६ गते ।
भूकम्प जाने हल्ला फैलिएपछि हुम्लावासी राति घरबाहिर बस्न बाध्य भएका छ । राति एक्कासि भूकम्प जाने हल्ला फैलिएका कारण हुम्लावासी राति ४ बजेबाट आँगनमा आगो बालेर बस्न बाध्य भएका हुन् ।  

ठूलै स्केलको भूकप्म जाने कुरा एक कान दुुई कान मैदान भएपछि राति ओछ्यानमा सुतेका स्थानीय घरबाहिर निस्कन बाध्य भएका हुन्  ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलले कर्णाली क्षेत्रमा ठूलो भूकम्प जान्छ भन्ने हल्ला चलेपछि हुम्ला, मुगु र बाजुरा जिल्लाका नागरिक रातभर जाग्राम बसेको बताउनुुभयो  । माघको माइनस ५ भन्दा बढीको जाडोमा स्थानीयवासी रातभर घरबाहिर आगो बालेर बस्नुुपरेको थियो ।

‘‘कसले कहाँबाट हल्ला फिँजायो भूकम्प आउँछ भनेर मेरै गाउँमा पनि सबैजना घरबाहिर बस्नुुभएको छ,’’ उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘गाउँका सबै बसेपछि जो कोही बाहिर आउन बाध्य हुनुभयो ।’’

केही दिन अघि बाजुरा जिल्लाको बिछ्यामा केन्द्रबिन्दु भएर आएको भूकम्पलाई आधार मानेर कुनै धामीलाई हेराउँदा ठूलो भूकम्प आउने अनावश्यक भविष्यवाणी गरेकै कारण स्थानीयले रातभर घरबाहिर बस्नुपरेको हो ।

आधिकारिक रुपमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय हुम्लाले त्यस्तो हल्ला साँचो नभएको बताए पनि बाजुराको उत्तर, हुम्ला र मुगुका बासिन्दा बिहानसम्म घरबाहिरै बसेका थिए ।

हुम्ला जिल्लाका नाम्खाबाहेक सञ्चार सम्पर्क हुने सबै गाउँपालिकाका बस्तीमा मानिस खबर सुन्नेबित्तिकै घरबाहिर बसेका थिए।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यसरी तथ्यहीन हल्ला फैलाउन खोज्ने व्यक्तिको खोजी भइरहेको बताउनुभयो । यसरी गलत र तथ्यहीन कुराको पछि नलाग्न उहाँले सम्पूर्ण जिल्लावासीलाई आग्रह गर्नुभयो ।