अविनाश चौधरी
धनगढी, माघ १५ गते । कैलालीमा आज बाक्लो हुस्सु लागेको छ । हिजो र आज बिहान शीतलहरसमेत चलेको थियो ।
केही दिन अगाडि वर्षापछि एक दिन मौसम सफा भई घाम लागे पनि त्यसपछि फेरि हुस्सु-कुहिरो लाग्न थालेको हो । हुस्सु लागेपछि फेरि चिसो बढेको छ । पानी परेपछि गर्मी हुने अपेक्षा गरिए पनि फेरि जाडो बढेको धनगढी उपमहानगरपालिका –८ का स्थानीय जगेन्द्र चौधरीले बताउनुभयो ।
तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बुलेटिन प्रकाशित गरी जानकारी दिएको छ । यसै गरी, आज र भोलि सुदूरपश्चिमसहित कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने र एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको जनाएको छ।