• ९ मंसिर २०८१, आइतबार

लाटोकोसेरो उत्सव हुने

blog

धनगढी समाचारदाता

धनगढी, माघ १५ गते । कैलालीको घोडाघोडी चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको छ। किसानका साथीका रूपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले सो उत्सव आयोजना गरिएको हो। संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरू र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो। माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। 

नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइएको अभिलेख छ। नेपालबाट वर्षमा दुई हजार जति लाटोकोसेरोको तस्करी हुने गरेको बताइन्छ। सन् २०१२ बाट नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न थालेको प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सबैभन्दा पहिले धादिङमा उत्सव आयोजना गरिएको थियो। कैलालीमा आयोजना गर्न लागिएको १०औँ उत्सव हो। यसअघि विभिन्न जिल्लामा आयोजना गरिएको थियो। 

नेपालको सुदूरपश्चिमबाट सबैभन्दा बढी लाटोकोसेरो भारततर्फ तस्करी हुने गरेका कारण संरक्षणसम्बन्धी सन्देश दिन यस वर्ष कैलालीमा उत्सव गर्न लागेको उहाँको भनाइ थियो। आचार्यले भन्नुभयो, “नेपालबाट ३२ बाटो भएर लाटोकोसेरोको तस्करी हुन्छ। जसमध्ये सबैभन्दा बढी सुदूरपश्चिमबाट तस्करी हुने गरेको छ।”

लाटोकोसेरो संरक्षणका लागि चोरी सिकार र व्यापार प्रमुख चुनौतीका रूपमा रहेको आचार्यले बताउनुभयो। लाटोकोसेरोले मुसा खाएर किसानलाई सहयोग गर्ने भएकाले यसलाई किसानको साथी पनि भन्ने गरिन्छ। गोठे लाटोकोसेरोको एक परिवारले बच्चा हुर्काउने बेला एक सिजनमा तीन हजारसम्म मुसा खाने गरेको पत्रकार सम्मेलनमा जनाइएको छ।

दुई दिनसम्म आयोजना हुने उत्सवमा संरक्षणसम्बन्धी प्रवचन, लाटोकोसेरोको बारेमा जानकारीमूलक प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, पौराणिक खेलकुद प्रस्तुति, घोडाघोडी चरा आरक्षमा चरा अवलोकनलगायतका कार्यक्रम हुने जनाइएको छ। 

चार जनालाई संरक्षण पुरस्कार

उत्सवमा लाटोकोसेरो संरक्षणमा योगदान पु-याउने चार जनालाई ‘राष्ट्रिय प्रकृति संरक्षण’ पुरस्कार प्रदान गरिने भएको छ। यस वर्ष पुरस्कारका लागि जाजरकोटका गोविन्दबहादुर सिंह, काठमाडौँ–४, गोकर्णेश्वरका हेमबहादुर कटवाल, सञ्चारकर्मी रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पाँडेलाई संरक्षण पुरस्कार प्रदान गरिने जनाइएको छ। चारै जनालाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिने आयोजकले जानकारी दिएको छ। 

चरा नेटवर्क सञ्जाल कैलालीका अध्यक्ष डीआर चौधरीका अनुसार उत्सवमा आएका पाहुनाका बसोबास र खानाको व्यवस्था माघी होमस्टे र सुखड, पहलमानपुरलगायतका होटलमा गरिएको छ। उत्सवमा करिब पाँच सयसम्म पाहुना आउने अनुमान गरिएको छ। एक सय जनालाई होमस्टे र बाँकीलाई होटलमा सहुलियत दरमा बसोबासका लागि व्यवस्था गरिएको जनाइएको छ।

वन तथा वन्यजन्तु संरक्षणमा क्रियाशील देशैभरिबाट पाहुना आउने हुनाले यो उत्सवले स्थानीय होमस्टे र घोडाघोडी चरा आरक्षको प्रवद्र्धन गरी पर्यटन विकासमा टेवा पु-याउने बताइएको छ।