• ८ पुस २०८१, सोमबार

चौध घण्टा लोडसेडिङ

blog

हुम्ला समाचारदाता

हुम्ला, माघ १५ गते  । हुम्लाको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्न थालेको छ । पानीको स्रोत कम भएको र नदीको पानी पनि जमेका कारण विद्युत् उत्पादन कम भएकाले लोडसेडिङको समय वृद्धि गर्नु परेको आयोजनाले जनाएको छ । 

सिमकोट बजारका ओबराज शाहीले बिहानदेखि बेलुकासम्मको अधिकांश समय लोडसेडिङ हुने भएकाले काममा बाधा परेको गुनासो गर्नुभयो । राति ९:३० बजेपछि भने विद्युत् आपूर्ति हुने गरेको छ । हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले हिउँदको समय भएकाले नदीको पानी प्रवाह कम हुने भएका कारण लोडसेडिङको समय वृद्धि भइरहेको बताउनुभयो । नदीमा पानीको प्रवाहमा कमीका साथै भएको पानी पनि जमेर बरफ बन्ने भएकाले बिहानको समय त विद्युत् उत्पादन गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।

यो आयोजनाले अन्य समयमा पनि मागअनुसार विद्युत् आपूर्ति गर्न सकेको छैन । हिल्दुम जलविद्युत् आयोजनाले हाल एक सय किलोवाट विद्युत् उत्पादन गर्ने गरेको छ । जब कि माग एक मेगावाट रहेको छ । 

विद्युत् उत्पादन क्षमता पाँच सय किलोवाट रहेको यो आयोजनाले सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार एक सयभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

यसैगरी सिमकोट गाउँपालिका–८, स्याँडा गाउँका बासिन्दा एक हप्तादेखि अन्धकारमा बस्न बाध्य छन् । गाउँमै उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको टर्वाइनमा समस्या आएपछि विद्युत् उत्पादन बन्द भएको हो । सो गाउँका वडाध्यक्ष कमल बुढाले विद्युत् उत्पादन नहुँदा करिब २७० घरधुरी प्रभावित भएको बताउनुभयो । गारघट्ट खोलामा सात वर्षअघि पावरहाउस निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको थियो । सो विद्युत् उत्पादन भएपछि यी गाउँमा हिल्दुम साना जलविद्युत् आयोजनाको बिजुली वितरण गरिएको छैन ।