• १४ असार २०८१, शुक्रबार

युगीन गीत

blog

कैयौँ गीतहरू

रगतको मसीले लेखिए रणमैदानमा

गाइए बन्दुकको सङ्गीतसँगै,

कति गीतहरू

सपाट कलमले लेखिए

लुटेर निरीहको आँसु/पसिनाको मसी

गाइए दरबारका पटाङ्गिनीमा ।


लेख्न त लेखिए कैयौँ गीतहरू– क्रान्तिका 

गाउन त गाइए थुप्रै गीतहरू– शान्तिका

अफसोस !

न क्रान्ति कहिल्यै समाप्त भएको छ

न शान्ति कहिल्यै पूर्ण भएको छ

धर्तीमा रगतको खोला सुकेको छैन

दुखेको मान्छेको आँसु रुकेको छैन ।


कति गाउनु

अन्त्यहीन भ्रान्तिका गीतहरू !

रच्नु छ अब त्यस्तो सङ्गीत

जसको एकै मुच्र्छनाले

जगमगाओस् सारा सृष्टिको तेज

बौरेर नाचोस् मानवता धर्तीमा

अफसोस !

समयले अझै भेटिरहेको छैन

त्यस्तो युगीन गीत

समानताको लय, न्यायको सुर ।


गाउनु छ एउटा त्यस्तो गीत 

जसको सुरतालमा मुग्ध भएर

युद्धमैदानको सिपाहीले पनि 

हठात् भुइँमा फालोस् हातको बन्दुक 

र, बोकोस् शान्तिको झण्डा 

जुन गीत सुनेरै 

कुनै पागल प्रेमीले 

तेजाबको सिसी र छुरीको सट्टा 

खल्तीबाट झिकोस्– रातो गुलाफ !


त्यो गीतको/सङ्गीतको झङ्कारमा

जागोस् मान्छेभित्रको सुषुप्त बुद्ध 

फुटोस हृदयमा करुणाको मूल 

पल्लवित होस्–

सीमारेखाविहीन धर्तीको साझा बगैँचामा

विश्व–बन्धुत्वको पवित्र भावना

र, यो युगका प्रत्येक खलनायक 

क्षणभरमै अवतरित होऊन्– नायकमा ।


ओ, एकाइसौँ शताब्दीका मान्छेहरू !

आऊ 

लेखाैँ नयाँ कालजयी गीत

गाऔँ त्यस्तो युगीन गीत !