• ८ पुस २०८१, सोमबार

कर्णालीलाई सुरक्षित बनाउन विशेष अभियान

blog

सुर्खेत समाचारदाता

सुर्खेत, माघ १४ गते । कर्णाली प्रदेशलाई सुरक्षित बनाउनका लागि प्रदेश प्रहरी कार्यालयले विशेष अभियान चलाउने भएको छ। कर्णालीमा लागूऔषध दुव्र्यसन तथा ओसारपसार, हिंसा, सवारी दुर्घटना, ट्राफिक अस्तव्यस्ततालगायतका प्रमुख समस्या रहेको हुँदा प्रहरीले ती सबै न्यूनीकरणका लागि विशेष अभियान नै चलाउन लागिएको हो।

शुक्रबार पत्रकार भेटघाट गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीम ढकालले अपराध, हिंसा तथा असुरक्षाबाट सुरक्षित बनाउन प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार सुरक्षित कर्णाली प्रदेश नै आफ्नो उद्देश्य रहेकाले सबै पक्षसँग समन्वय गरी विशेष अभियान थालनी गरिनेछ। 

यसैगरी यो अभियानमा अपराध रोकथाम, सवारी दुर्घटना तथा लागूऔषध सेवन र कारोबारमा कमी ल्याउने गतिविधि सञ्चालन गरिएको छ। गाउँ समाज तथा विद्यालयमा सचेतना कार्यक्रम पनि चलाइने जानकारी डीआईजी ढकालले दिनुभयो।

सामाजिक सञ्जालको दुरुपयोग पनि भएको हुँदा अभियानमा त्यसको सदुपयोगका लागि सचेतना पनि दिइनेछ। यसका साथै आत्महत्या न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम, सुरक्षित रहनका लागि सचेतना कार्यक्रम पनि चलाइने उहाँले बताउनुभयो। अन्य प्रदेशको तुलनामा कर्णालीमा आपराधिक घटनामा केही कमी आएको भए पनि सबै पक्षसँग सहकार्य गरी विशेष अभियान चलाई प्रहरीप्रति गुनासो कम आउने बनाउन आफ्नो सक्रियता रहने उहाँको भनाइ छ।

यसैगरी लुम्बिनी प्रदेशमा रहेको कर्णाली प्रदेशका चारवटा प्रहरी युनिटलाई प्रदेशमै ल्याउन पहल पनि भइरहेको छ। कर्णाली प्रदेश प्रहरी प्रवक्ता एसएसपी माधवकुमार श्रेष्ठले पूर्वाधारको समस्याले कर्णालीका प्रहरी युनिट लुम्बिनीको बाँकेमा रहेको भन्दै कर्णालीमै ल्याउन पहल भइरहेको बताउनुभयो। कर्णाली प्रदेशको प्रहरी तालिम केन्द्र, दङ्गा नियन्त्रण गण, प्रहरीको कुकुर तालिम केन्द्र (केआई) र प्रहरी प्रयोगशाला लुम्बिनी प्रदेशको बाँकेमा रहेको छ।

प्रवक्ता एसएसपी श्रेष्ठले यी कार्यालयका लागि सुर्खेतमा जग्गा हेर्ने काम भइरहेको हुँदा अन्तिम टुङ्गो लागेपछि ती कार्यालय सुर्खेतमा ल्याइने बताउनुभयो। पूर्वाधारको व्यवस्था गर्न प्रदेश सरकार र सङ्घीय सरकारसँग पनि आग्रह गरिसकेको भन्दै उहाँले छिट्टै ती कार्यालय सुर्खेत आउनेमा विश्वस्त रहन जोड दिनुभयो। पत्रकार भेटघाटमा पत्रकारले प्रहरीसँग सूचनाको पहुँचमा सहजता ल्याउन, प्रहरीको भूमिका फराकिलो र सशक्त बनाउन सुझाव दिएका थिए।