• १९ चैत २०८२, बिहिबार

बजेट कार्यान्वयनमा मधेश प्रदेशसभा सदस्यको जोड

blog

फाइल तस्बिर

धर्बेन्द्र झा

जनकपुरधाम, चैत १९ गते । मधेश प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट समयमा कार्यान्वयन हुन नसकेको भन्दै सत्तासीन तथा प्रतिपक्षी दलका सदस्यले चिन्ता व्यक्त गरेका छन् । बैठकको शून्य र विशेष समयमा बोल्दै अधिकांश सदस्यले बजेट खर्चको अवस्था सुस्त रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सत्तासीन जनमत पार्टीका प्रदेशसभा सदस्य चन्दन सिंहले सरकारले आफ्नै बजेट कार्यान्वयन गर्न ढिलाइ गरेको आरोप लगाउनुभयो । उहाँले सरकार 'कोठे बैठक' मा मात्र सीमित नभई प्रदेशसभा सदस्यसँग छलफल गरेर समस्याको निकास दिनुपर्नेमा जोड दिनुभयो । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी सदस्य रमिता प्रधानले आर्थिक वर्षको नौ महिना बित्न लाग्दा पनि अपेक्षित खर्च हुन नसकेको भन्दै रोकिएका योजना तत्काल सञ्चालन गर्न माग गर्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी सदस्य सुरिता साहले विनियोजित बजेटको कार्यान्वयनसँगै किसानका लागि समयमै मलखादको व्यवस्था गर्न आग्रह गर्नुभयो । प्रतिपक्षी दल नेकपा (एमाले) का सदस्य राजकुमार लेखीले आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा विकास निर्माणका काम कसरी सम्पन्न हुन्छन् भनी प्रश्न गर्नुभयो । उहाँले विगत १० वर्षमा प्रदेश सरकारले सरकारी कामकाजको भाषा कार्यान्वयनमा ल्याउन नसकेको भन्दै आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपाली कांग्रेसका सदस्य कुमरकान्त झाले जनकपुरधामस्थित आँखा अस्पताललाई रेडक्रसको अधीनबाट अलग राख्नुपर्ने धारणा राख्नुभयो । विशेष समयमा सुनिता यादव, सकिल मियाँ, मनोज सिंह लगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । शून्य समयमा बोल्ने सदस्यले क्यान्सर पीडितलाई दिइने सहयोग समयमै उपलब्ध गराउनु पर्ने, असिनापानीबाट पीडित किसानलाई राहत दिनुपर्ने र मलखादको व्यवस्था गर्नुपर्ने माग राख्नुभएको छ ।

सभामुख रामअशिष यादवको अध्यक्षतामा बसेको बैठकमा 'प्रदेश नीति आयोग गठन तथा सञ्चालन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक' समितिको प्रतिवेदनमाथि सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । छलफलमा भाग लिँदै सदस्यले नीति आयोगमा महिलाको प्रतिनिधित्व हुनुपर्ने, यसलाई सरकारले निजी सचिवालयका रूपमा प्रयोग गर्न नहुने र आयोगले प्रदेशसभा एवं सरकार दुवैसँग समन्वय गर्नुपर्ने सुझाव दिएका छन् । प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।