• ९ मंसिर २०८१, आइतबार

‘निम्न वर्गको उत्थानमा कटिबद्ध छु’

blog

गोदावरी समाचारदाता 

गोदावरी (कैलाली), माघ १४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरिब तथा निम्न आयस्रोत भएका वर्गको जीवनस्तर उत्थानका कार्ययोजना ल्याउने बताउनुभएको छ। मुख्यमन्त्री रावलले डोटीका भूकम्पपीडितको पुनस्र्थापना तथा राहत सहयोगका लागि ध्यानाकर्षण गराउन आएका सामाजिक संस्थाका प्रतिनिधिसँगको भेटमा यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले जति दिन नेतृत्वमा रहे पनि गरिब, पीडित र निम्न वर्गको उत्थानमा काम गर्ने प्रतिबद्धता गर्नुभयो। 

उहाँले भन्नुभयो, “आफ्नो प्राथमिकता पढाइ, कमाइ, दबाइ उपलब्ध गराउने तथा पानी, खानी र जवानी सदुपयोग गर्ने हुनेछ।” उहाँले सरकार र सामाजिक संस्था मिलेर एकद्वारामार्फत राहत र उद्धारका काम गरिनुपर्ने बताउनुभयो। उहाँले सुदूरपश्चिमलाई देउकी, छाउपडीजस्ता कुप्रथामा मात्रै जोडेर हेर्न नहुने पनि बताउनुभयो। 

तीन महिनाअघि खप्तड केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले छ जनाको मृत्यु, सात जना घाइते भएका थिए। डोटी र बझाङ जिल्लामा उक्त भूकम्पले पाँच सय घर पूर्ण क्षतिग्रस्त र चार हजार पाँच सय घर चर्केको तर राहत र पुनस्र्थापनाको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताइन्छ। भूकम्पपीडित विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्धवृद्धाहरू जोखिममा रहेको सरोकारवालाले बताएका छन्।