• १२ असोज २०८१, शनिबार

जापानी नगरप्रमुखलाई चिन्डो उपहार

blog

खोटाङ समाचारदाता

खोटाङ, माघ १४ गते । जापान भ्रमणमा जानुभएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोसँग औपचारिक भेटवार्ता गर्नुभएको छ। 

भेटमा उहाँले नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहारस्वरूप हस्तान्तरण गर्नुभएको जनाइएको छ। समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झन्डाअङ्कित सामग्रीलगायतका उपहार उहाँले तोचिगी नगरका प्रमुख हिदेकालाई हस्तान्तरण गर्नुभएको हो। 

जापानका तर्फबाट तोचिगीका प्रमुख हिदेकाले त्यहाँको उच्च सम्मानअनुसार प्रदान गरिने अङ्गुरबाट बनेको प्लेट, स्थानीय पङ्खा उपहारस्वरूप नगरप्रमुख भट्टराईलाई हस्तान्तरण गर्नुभएको बताइएको छ।

प्रमुख भट्टराईले तोचिगी नगरका प्रमुखसामु नेपाल र जापानको घनिष्ठ र मित्रवत् सम्बन्ध अमर बनाउन तोचिगी आएको बताउनुभएको थियो। त्यस क्रममा भट्टराईले हिदेकोलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका भ्रमणका लागि निमन्त्रणासमेत दिनुभएको छ। गत मङ्सिर ९ को मन्त्रीस्तरीय निर्णयअनुसार भट्टराई पुस २९ गते भ्रमणका लागि जापान जानुभएको हो। 

तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस कर्पोरेसन कम्पनी सञ्चालन गर्दै आउनुभएका महेश लुइँटेलले नगरप्रमुख भट्टराईलाई दिइएको सम्मान यसअघि तोचिगीको सरकारीस्तरबाट कहिल्यै नभएको प्रतिक्रिया दिनुभयो। दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालीन सम्बन्ध स्थापित गर्न कोसेढुङ्गा साबित हुने र भगिनी सम्बन्ध स्थापित हुने सङ्केत मिलेको शेर्पा ट्रेडलिङ्क कम्पनी जापानका अध्यक्ष निमा शेर्पाले बताउनुभयो।