• १२ असोज २०८१, शनिबार

‘बदनियत’ देखिएपछि भन्सार कर्मचारी तानिए

blog

नवराज कट्टेल

विराटनगर, माघ १४ गते । आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ देखिएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीन जना केन्द्रमा तानिएका छन् । 

भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिनुभएको हो । 

भन्सार प्रमुख सापकोटाले शुक्रबार रमाना बुझेर मन्त्रालय जानुभएको छ । सापकोटाको स्थानमा तत्काल कामकाज गर्न सिनियर अधिकृत सुवास श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । अधिकृत शर्मा र नासु दाहाललाई गत बिहीबार नै भन्सार विभागमा झिकाइएको थियो । 

विराटनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुवास श्रेष्ठले भन्नुभयो, “सापकोटा रमाना बुझेर मन्त्रालय जानुभएको हो । अन्यको हकमा मलाई थाहा छैन, कर्मचारीको सरुवा सामान्य प्रक्रिया हो ।” 

आयातकर्ता देन इन्टरनेसनल काठमाडौँले चीनबाट ७३ हजार अमेरिकी डलर बराबरको जुत्ता र तयारी पोसाक आयात गरेर राजस्व दाखिला गर्ने तयारीमा रहँदा दर्ता प्रज्ञापनपत्र रद्द गरिएको आरोप ती कर्मचारीमाथि लगाइएको छ । आयातकर्ताका भन्सार प्रतिनिधि शरण खरेलले ४५ लाख रुपियाँ राजस्व दाखिला गर्ने घोषणा गरेको उक्त मालवस्तुको दर्ता प्रज्ञापनपत्र ‘सिस्टम’मा प्रविष्टि गरिसकेपछि ‘डिलिट’ भएको थियो । आईसीपी परिसरमा आइसकेको मालवस्तुको प्रज्ञापनपत्र सिस्टमबाट डिलिट भएपछि विभागले एउटा टोली खटाएर छानबिन गरेको थियो । भन्सार कार्यालयले सामान आइनपुगेको जवाफ दिए पनि विभागको टोलीले रद्द गरिएको प्रज्ञापनपत्रको सामान गोदाममा फेला परेको थियो । उक्त सामानको राजस्व ४५ लाख रुपियाँ घोषणा गरिए पनि पछि एक करोड २५ लाख असुल गरेर छोडिएको छ । 

विराटनगर नाकाका लागि कस्टम ट्रान्जिट डिक्लियरेसन (सीटीडी) कोलकाता बन्दरगाहाले जारी गरेको उक्त सामान एलसी खोलेर मगाइएको थियो । एलसीमा आयात गरिएको सामान सम्बन्धित देशमा आइपुगेन भने एलसी खोल्नेलाई विदेशी मुद्रा अपचलन र भन्सार छलेर भित्र्याइयो भने राजस्व अपचलनको अभियोग लाग्छ । 

भन्सारका एक कर्मचारीका अनुसार अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नेतृत्वको टोलीले जाँचपासमा उत्पन्न आशङ्काबारे विराटनगर भन्सारमै आएर छानबिन गरेर फर्केको थियो । त्यसकै आधारमा त्रुटिसहित प्रमुख सापकोटासहित अधिकृत शर्मा र नासु दाहाललाई मन्त्रालय र विभागमा झिकाइएको दाबी छ ।