• ८ पुस २०८१, सोमबार

हिमपातपछि रोकिए निर्माण

blog

हुम्ला समाचारदाता

हुम्ला, माघ १३ गते । दुई दिन लगातार परेको बाक्लो हिमपातका कारण उत्तरी हुम्लाका छ दर्जनभन्दा बढी विकासे योजनाका काम ठप्प भएका छन्। 

निर्माण कार्य भइरहेको स्थानमा हिउँ जमेका कारण काम गर्न नसकिने भएपछि योजनाको काम ठप्प भएको हो। नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले अत्यधिक हिमपातले गर्दा गाउँपालिकाद्वारा सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी योजनाको काम ठप्प भएको जानकारी दिनुभयो।

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले उत्तरतर्फका एक दर्जनभन्दा बढी सडक निर्माणका योजनाको काम हिमपातले गर्दा रोकिएको जानकारी दिनुभयो। यसरी हिमपातकै कारण निर्माण कार्य रोकिएका योजनामा सडक निर्माण, स्तरोन्नति तथा पुल निर्माणको काम रोकिएको योजना प्रमुख यादवले बताउनुभयो। 

सिमकोट र खार्पुनाथ गाउँपालिकाले ४० भन्दा बढी योजनाको काम रोक्नु परेको जनाएका छन्। दुवै गाउँपालिकाले निर्माण कम्पनी र उपभोक्तामार्फत काम सुरु भएका योजनाको निर्माण कार्यलाई हिमपातका कारण रोकिएको जानकारी दिएका छन्। 

पूर्वाधार विकास कार्यालयले १० भन्दा बढी योजनाको निर्माण कार्य हिमपातकै कारण रोकिएको जनाएको छ। सघन सहरी विकास कार्यालय जुम्लाद्वारा सञ्चालनमा आएका नौवटा योजनाको निर्माण पनि रोकिएको जनाइएको छ। कार्यालयका सब–इन्जिनियर विमल रावतले निर्माण स्थलमा दुई फिटभन्दा बढी हिउँ जमेका कारण काम अघि बढाउन नसकिएको बताउनुभयो। हिमपातले काम रोकिएपछि उपभोक्ता र निर्माण व्यवसायीलाई निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने चिन्ता थपिएको छ।