काठमाडौँ, माघ १३ गते । काठमाडौँ महानगरपालिका जनस्वास्थ्य विभागद्वारा सञ्चालित टेकुस्थित अकुपन्चर सेवा केन्द्रका सामग्री अलपत्र छन् । महानगरपालिकाद्वारा सञ्चालित अकुपन्चर केन्द्र रहेको जीर्ण टहरो भत्काइएको छ । अर्काे ठाउँको व्यवस्थापन गरिँदा अकुपन्चर सेवासँग सम्बन्धित सामग्री विगत एक वर्षदेखि महानगरपालिकाको नक्सा विभागको पाँचौँ तलामा अलपत्र पारिएका छन् । नसा च्यापिएको, पक्षाघात, मुख बाङ्गिने, टाउको दुख्ने, पिनास, अनिद्रा, नसा, हाडजोर्नी, बाथ, ढाड दुख्नेलगायतका समस्या भएका बिरामीले करिब २२ वर्षदेखि सेवा दिइरहेको सो केन्द्रले उपचार सेवा खुम्च्याइसकेको छ ।
नुवाकोट तादी गाउँपालिका–५ निवासी सीता तामाङले तीन वर्ष पहिले दुवै घुँडाको जोर्नी दुख्दा सोही केन्द्रमा दैनिक २५ रुपियाँमा अकुपन्चर सेवा लिएपछि हिँडडुल गर्न सहज भएकोमा पुनः उपचार गराउन पाँच तला उक्लिएर जाँदा सेवा नपाएको गुनासो गर्नुभयो ।
उहाँले नसा, हड्डीको समस्या लिएर आउने बिरामीका लागि लिफ्ट पनि नभएको र पहिले जस्तो सबै स्वास्थ्य समस्याको उपचार नहुँदा पाँच तलामाथि उक्लिन दुखाइमाथि सजाय थपे जस्तो अनुभव भएको गुनासो गर्नुभयो । केन्द्रमा ह्विलचेयरमा बसेर उपचारका लागि आउने बिरामी हुने भए पनि लिफ्ट नभएका कारण घर फर्किनुपर्ने अवस्था पनि छ ।