• १२ असोज २०८१, शनिबार

गणतन्त्र दिवस समारोह आयोजना

blog

काठमाडौँ, माघ १३ गते । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा बिहीबार यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समारोहमा उपस्थिति हुनुहुन्थ्यो । 

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी–व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो । 

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको सम्बन्धमा दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले नयाँ आयाम थपिएको बताउनुभयो । 

उहाँले पारस्परिक सम्बन्धलाई अझ गतिशील तुल्याउन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न आफ्नो देशको राजनीतिक नेतृत्व प्रतिबद्ध रहेको बताउनुभयो । समारोहमा भारतबाट आएका कलाकारले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।