• १२ असोज २०८१, शनिबार

खाजाको रकम एकल महिलालाई सहयोग

blog

बनेपा नगरपालिका –१० की आगलागी पीडित एकल महिलालाई एवीएम स्कुल बनेपाका बिद्यार्थीले सङ्कलन गरेको सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै जिल्ला समन्वय प्रमुख दिपकुमार गौतम । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना

काभ्रेपलाञ्चोक, माघ १२ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –११ मा रहेको आदर्श बिद्या मन्दिर (एवीएम स्कुल) मा कक्षा ११ र १२ मा सामाजिक विषयमा अध्ययनरत बिद्यार्थीले खाजा तथा तिहारमा देउसीभैलो कार्यक्रमबाट सङ्कलन भएको रकम आगलागी पीडित एकल महिलालाई सहयोग गरेका छन् । 

एक कार्यक्रमबीच बिहीबार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले बिद्यार्थीले सङ्कलन गरेको ४० हजार १५० रुपियाँ रकम बनेपा नगरपालिका–१० जनागालकी आगलागी पीडित एकल महिला भवानी हुमागाईलाई हस्तान्तरण गर्नुभएको हो । 

विद्यार्थीले एकल महिलाको छोराछोरीलाई बिद्यालयले कक्षा १२ सम्म निःशुल्क पढाइदिने, कानुन सङ्कायका विद्यार्थीले निःशुल्क कानुनी सहयोग गर्ने र आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थीले उहाँको अवस्थाका विषयमा अध्ययन गर्ने निर्णय गरेका छन् । बिद्यालयमा अध्ययनरत बिद्यार्थीले व्यवहारिक शिक्षा लिने र दिनेक्रममा पीडित महिलालाई सहयोग गरेको बिद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

कार्यक्रममा समन्वय प्रमुख गौतमले आगलागी पीडित हुमागाईलाई राहत दिलाउन आफ्नो स्थानबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो । 

कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले आगलागी पीडित एकल महिलाको आवास निर्माणको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बनेपा नगरपालिका–१० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, वडा नम्बर–११ का वडा अध्यक्ष शिवकुमार थापालगायतको उपस्थिति थियो ।