लीलाधर वली
घोराही, चैत १९ गते । दाङको घोराही उपमहानगरपालिका–१५, काठेकोहलस्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत २६ जना छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ ।
टाढा घर भएका छात्रालाई पढ्नका लागि विद्यालय आउन सहजताका लागि जेन्टा क्लब काठमाडौँ, रण–अम्बिका शाह सेवा गुठी नेपाल र तारा ओरेन्टल संस्थाको सहयोगमा सरस्वती माध्यामिक विद्यालय काठेकोहलमा कक्षा ६ देखि ९ कक्षामा अध्ययनरत छात्रा विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको हो ।
विद्यालयदेखि टाढा घर भएका विद्यार्थीलाई नियमित समयमै विद्यालय उपस्थितिमा सहयोग गर्ने उद्देश्यले कक्षा ६ देखि ९ सम्मका २६ जना छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिनुभयो ।
शैक्षिक वर्ष २०८३ का लागि २० जना गरिब तथा जेहेनदार छात्रछात्रालाई पठनपाठनमा सहयोग गर्न छात्रवृत्ति वितरणको सम्झौता गरिएको छ । सम्झौता अनुसार अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च संस्थाले बेहोर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा विद्यालयका प्रधनाध्यापक खिमप्रसाद पुरी र जेन्टा क्लब काठमाडौँकी सभापति बिना राणाले हस्ताक्षर गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीलाई घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा. रामबहादुर हमाल, घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डेय, जोन्टा क्लब काठमाडौँका सभापति बिना राणा, उपाध्याक्ष मृदुला राजभण्डारीले विद्यार्थीलाई साइकल वितरण गर्नुभएको थियो ।