• १३ असार २०८१, बिहिबार

अर्थतन्त्रका सूचक अझै चिन्ताजनक छन् : प्रधानमन्त्री प्रचण्ड

blog

बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ १२ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

प्रधानमन्त्री प्रचण्डले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताउनुभयो। सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत् आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको उहाँको भनाइ छ। 

उहाँले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले तीन सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै उहाँले सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिबद्धता जनाउनुभएको छ। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले हामी विशिष्ट अवस्थामा छौँ। आर्थिक रूपले परिसूचक त्यति राम्रो छैन, चिन्ताजनक छन्। यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जसलाई मैले चुनौतीको विषय मानेको छु। सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत् आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको छु। आगामी दिनमा तपाईँको सहकार्यबाट नै अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न ठूलो सहयोग मिल्नेछ। अहिले एकातिर निःशुल्क स्वास्थ्य सेवा दिने र स्तरीय स्वास्थ्य सेवा दिने झन्डै तीन सय शैय्याको अस्पताल बनाउने कुरा गर्नुभएको छ। सरकारको तर्फबाट जग्गा उपलब्ध गराउने कुरामा सरकारबाट पहल गर्ने विश्वास दिन चाहन्छु।’’ 

प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताउनुभयो।