• १३ साउन २०८१, आइतबार

पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा सेल्स मिसन कार्यक्रम

blog

नेपाल पर्यटन बोर्डद्वारा नेपालीमा पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन सुरु । तस्बिर : नेपाल पर्यटन बोर्डद्वारा

काठमाडौं, माघ १२ गते । नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारीपछि नेपालीमा पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन सुरु गरेको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डको वार्षिक कार्यक्रम अनुसार विभिन्न देशमा सो कार्यक्रम भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरूको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरू सुरु भएका छन् । यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’’

बोर्डले नेपाल एसोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) सँगको सहकार्यमा भारतको वाराणसी (बनारस)मा माघ १० गते  र गोखपुरमा ११ गते सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गर्दैछ ।

कार्यक्रममा नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ । सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको छ ।

गोरखपुर तथा बनारसमा आयोजित कार्यक्रममा नेपाल बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालको पर्यटनबारे प्रस्तुतीकरण दिनुहुँदै नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र वाराणसी, नेपालबीच धार्मिक पर्यटनमा सहकार्य गर्न सकिने र यसबाट दुवै देशलाई फाइदा पुग्ने बताउनु भयो ।

उहाँले नेपाल नेचर कल्चर र एडभेन्चर सबै हिसाबले उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले भारतीय पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गर्न र नेपालको प्याकेज बेच्न आग्रह गर्नुभयो ।  

नाट्टाका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक विष्णु पाण्डेले नेपालले भारतीय पर्यटकका लागि विशेष ध्यान दिनुहुँदै क्रस बोर्डर पर्यटनमा जोड दिएको बताउनुभयो । उहाँले भारतीय पर्यटकको स्वागत गर्न नेपाल सधैँ तयार रहेको जानकारी दिनुभयो । साथै बीटुबी कार्यक्रमबाट हुने पर्यटकीय गतिविधिले दुवै देशको पर्यटन प्रवर्द्धन हुने पनि बताउनुभयो ।

सीमा क्षेत्र पर्यटन प्रवर्द्धनमा बोर्डको थप सक्रियता

यस्तै, सिद्धार्थ होटल एसोसिएसनका संस्थापक अध्यक्ष तथा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपाल भारतीय पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको बताउनुहुँदै नेपाल आतिथ्यका लागि तयार रहेको बताउनुभयो ।

गोरखपुर तथा बनारसमा आयोजित दुवै कार्यक्रममा भारतीय पक्षबाट भारतीयहरू नेपाल भ्रमण गर्न चाहिरहेको उल्लेख गर्दै सीमा हुँदै नेपाल प्रवेश गर्ने गाडीहरूको सहज आवात जावत हुनु पर्ने तथा पर्यटकका लागि विशेष प्याकेज तयार गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । गोरखपुरमा  आयोजित कार्यक्रममा उत्तर प्रदेश पर्यटनका क्षेत्रीय अधिकृत रवीन्द्र कुमारले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटनलाई चलायमान बनाउने बताउनु भयो ।