विश्व भन्सार सङ्गठन विश्वभरिका भन्सार प्रशासनको मार्गदर्शक र समन्वयकारी संस्था हो । यो सङ्गठन स्थापना भएको ७१ वर्ष लागेको छ । नेपाल पनि उक्त सङ्गठनको सदस्य हो । सङ्गठनले तय गरेका व्यापार सहजीकरणका विभिन्न मापदण्ड र प्रणाली नेपालको भन्सार प्रशासनले पनि अपनाउँदै आएको छ ।
व्यापार सहजीकरण भनेको के हो ?
भन्सार प्रशासनलाई विगतदेखि नै राज्यको राजस्व सङ्कलन गर्ने प्रमुख निकायका रूपमा मानिँदै आएको छ । समयको परिवर्तनसँगै विश्वव्यापी रूपमा नै यसको भूमिका पनि परिवर्तन हुँदै आएको छ । भन्सार प्रशासनको मुख्य कार्यमा व्यापार सहजीकरण, आन्तरिक सुरक्षा तथा सार्वजनिक हितको रक्षा र त्यसपछि मात्र राजस्व सङ्कलन गर्ने भएको पाइन्छ । वैध व्यापारमा उचित सहजीकरण गर्न सकिएमा भन्सार प्रशासनले गर्ने राजस्व सङ्कलनको कार्य स्वतः हुने मान्यताका साथ अहिले नेपालमा समेत भन्सार प्रशासनको मुख्य कार्यमा व्यापार सहजीकरण गर्ने कार्यलाई नै प्रमुख मान्न थालिएको छ ।
व्यापार सहजीकरण भन्नाले अवैध व्यापार नियन्त्रण गरी वैध व्यापारमा देखिने समस्या समाधान गरी सहज बनाउने कार्य हो । सीमा क्षेत्रमा रहेका नागरिकको सर्वोपरि हितलाई ध्यान दिँदै भन्सारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पूर्ण परिपालना गरी वैध रूपले सीमा वारपार गरिने व्यापार नै भन्सारबाट हुने वैध व्यापार हो । यस्तो व्यापारमा भएका कानुनी तथा व्यावहारिक समस्यालाई निजी क्षेत्रसँगको सहकार्यमा समयमै समाधान गर्ने कार्य वा व्यापारमा रहेका असहज वातावरणलाई सहज बनाउने कार्यलाई व्यापार सहजीकरण भनिन्छ । यस्तो व्यापार सहजीकरणमा सीमा क्षेत्रमा हुने तस्करी, लागूपदार्थको ओसारपसार, अनियन्त्रित हातहतियारको ओसारपसार र राष्ट्रको सर्वोपरि हित रक्षाका लागि आवश्यक नदेखिएका मालवस्तुको पैठारीजस्ता कार्यमा नियन्त्रण गरिन्छ । यस्ता कार्यबाट भन्सार क्षेत्रमा हुने अवैध कारोबारमा नियन्त्रण भई राज्यको समग्र हितको रक्षा हुँदै भन्सारबाट हुने राजस्व सङ्कलनसमेत बढ्न गई वैध व्यापारले प्रोत्साहन पाउँछ ।
नेपालमा वैध व्यापारलाई प्रोत्साहन तथा सहजीकरण गर्न उत्तर तथा दक्षिणी सीमावर्ती क्षेत्र तथा अन्तर्राष्ट्रिय विमानस्थल र सुक्खा बन्दरगाहमा विभिन्न भन्सार कार्यालय स्थापना भई सञ्चालनमा रहेका छन् । अन्तर्राष्ट्रिय व्यापारका लागि कानुनी रूपमा तोकेको प्रक्रिया अवलम्बन गरी निर्धारित बाटो हुँदै भन्सार कार्यालयबाट आयात निर्यातकर्ताले मालवस्तुको आयात निर्यात गर्छन् । यसरी मालवस्तु आयात निर्यात गर्ने व्यवसायीको सहजीकरणका लागि भन्सार प्रशासनबाट विभिन्न किसिमका आधुनिक प्रणाली अपनाउने र अध्यावधिक प्रविधि तथा मेसिन औजार प्रयोग गर्नेजस्ता कार्य पनि हुँदै आएका छन् ।
नेपालले अवलम्बन गरेका व्यवस्था
विश्व व्यापार सङ्गठनर विश्व भन्सार सङ्गठनको सदस्य भएदेखि नै नेपालले व्यापार सहजीकरणका अन्तर्राष्ट्रिय प्रणाली र मान्यताको सम्भव भएसम्म कार्यान्वयन गर्दै आएको छ । सोही क्रममा कानुनी रूपमै भन्सारसँग सम्बन्धित ऐन नियममै यस्ता प्रावधान समेटी नेपालको भन्सार प्रशासनले स्रोत र साधनले भ्याएसम्म प्रचलनमा आएका प्रविधि र प्रणाली उपयोग र कार्यान्वयन गर्दै आएको देखिन्छ । व्यापार सहजीकरण गर्ने भनेको निरन्तर अभ्यासबाट देखापरेका असुविधा हटाउँदै लैजाने प्रक्रिया पनि हो ।
मूल्याङ्कनमा कारोबार मूल्य
भन्सारमा मालवस्तुको जाँचपास गर्दा कायम गरिने मूल्य भन्सार मूल्य हो । मूल्याङ्कनको विषय विश्वव्यापी रूपमै विवादको विषय रहँदै आएकोले यही विवाद समाधान गरी व्यापार सहजीकरणका लागि भन्सार ऐन २०६४ ले नै भन्सार मूल्याङ्कनसम्बन्धी विभिन्न व्यवस्था गरेको छ । सो ऐनमा नै पैठारी हुने मालवस्तुको मूल्य निर्धारण गर्दा विश्व व्यापार सङ्गठनको भन्सार महसुल तथा व्यापारसम्बन्धी सामान्य सम्झौता (जनरल एग्रिमेन्ट अन टेरिफ एन्ड ट्रेड) १९९४ को धारा ७) कार्यान्वयनका लागि सम्पन्न भएको सम्झौतामा उल्लिखित भन्सार मूल्याङ्कनसम्बन्धी नियम, अनुसूची र व्याख्या अवलम्बन गरिनेछ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ । सो व्यवस्थाअनुसार कारोबार मूल्य निर्धारण गर्ने विभिन्न विधि छन् ।
सर्वप्रथम व्यवसायीले पेस गरेको कागजातलाई नै मान्यता दिई कारोबार मूल्य निर्धारण गर्नुपर्छ । यसरी पेस गरेका कागजातका आधारमा कारोबार मूल्य निर्धारण गर्न नसकिएमा पहिले पैठारी गरेको समरूपको मालवस्तुका आधारमा र त्यसपछि पहिले पैठारी भएको ‘सिमिलर’ वा मिल्दोजुल्दो मालवस्तुका आधारमा गर्नुपर्छ । यसबाट पनि यथार्थ कारोबार मूल्य निर्धारण गर्न नसकिएमा ‘डिडक्टिभ भ्याल्लु मेथड’ तथा ‘कम्प्युटेड भ्याल्लु मेथड’ वा मनासिव आधारमा मूल्य निर्धारण गर्न सक्ने भन्ने सम्झौताको व्यवस्था ऐनमा नै उल्लेख गरी नेपालले विगत लामो समयदेखि नै सोही प्रक्रिया अपनाउँदै आएको छ ।
वर्गीकरणमा पूर्वादेशसहितको कानुनी व्यवस्था
भन्सारमा व्यापार सहजीकरणमा देखिने अर्को विवादको विषय वस्तु वर्गीकरण पनि हो । वस्तु वर्गीकरण नै भन्सार महसुल र राजस्व दरबन्दीको आधार पनि हो । नेपालको भन्सार प्रशासनमा विश्व व्यापार सङ्गठनर विश्व भन्सार सङ्गठनले प्रचलनमा ल्याएको र विश्वव्यापी मान्यता प्राप्त ‘हार्मोनाइज्ड’ प्रणाली कार्यान्वयनमा रहेको छ । यस प्रणालीमा भन्सारबाट जाँचपास हुने हरेक माल वस्तुको छुट्टै सङ्केत नम्बर हुन्छ । यही सङ्केत नम्बरका आधारमा भन्सार दरबन्दी तय गरिने र सोही आधारमा भन्सार महसुललगायतको राजस्व तिर्नुपर्ने गरी व्यवस्था गरिएको छ । वस्तु वर्गीकरणको सन्दर्भमा हाल २०२२ भर्सनको हार्मोनाइज्ड प्रणालीमा आधारित वर्गीकरण प्रणाली अपनाउँदै नेपालको प्रचलित ऐनले नै वस्तु वर्गीकरणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, पुनरवलोकन र पुनरावेदन तथा व्यवसायीले आवश्यक ठानेमा पैठारी गर्नुपूर्व नै पूर्वादेश जारी हुने समेतको पर्याप्त व्यवस्था गरेको देखिन्छ ।
जाँचपासमा सहजीकरणका लागि भएका व्यवस्था
भन्सार कार्यालयमा भन्सार एजेन्ट वा व्यवसायीबाट मालवस्तुको घोषणा भएपछि भन्सार अधिकृतबाट कारोबार मूल्य निर्धारण गरिन्छ । त्यसपछि कम्प्युटर प्रणालीबाट निर्देश भएबमोजिम भौतिक परीक्षण गरी भुक्तानी गर्नुपर्ने महसुल निर्धारण गर्ने कार्य गरिन्छ । यसरी निर्धारण गरिएको राजस्व इपेमेन्टमार्फत बुझाएपछि जारी भएको रसिदका आधारमा ‘एक्जिटनोट’ अर्थात् गेटपास तयारी हुन्छ । यस्तो गेटपास भन्सार कार्यालयको गेटमा देखाइ मालवस्तु कार्यालयबाट बाहिर निस्कन पाउँछ । यसरी मालवस्तु भन्सारमा घोषणा गरी भन्सार क्षेत्रबाट बाहिर निकाल्ने प्रक्रिया नै भन्सार जाँचपास हो । निकासीकर्ता वा पैठारीकर्ताले भनेको स्थानमा भन्सार क्षेत्रभन्दा बाहिर गएर पनि माल वस्तु जाँचपास गर्न सक्ने गरी भन्सार ऐनले नै आवश्यक व्यवस्थासमेत गरेको छ । यसरी भन्सार जाँचपास प्रक्रियामा सहजीकरणका लागि पर्याप्त व्यवस्था गरी नेपालको भन्सार प्रशासनले विभिन्न आधुनिक प्रविधि, प्रणाली र औजारसमेत प्रयोग गरिरहेको छ । हाल प्रयोगमा रहेका सहजीकरणसम्बन्धी त्यस्ता केही व्यवस्था र प्रणाली निम्नअनुसार छन् ।
आसीकुडा वल्र्ड प्रणालीबाट जाँचपास
भन्सार प्रशासनमा मालवस्तुको जाँचपासका लागि अत्याधुनिक जाँचपासको कम्प्युटर प्रणाली ‘आसीकुडा वल्र्ड’ नेपालमा पनि प्रयोगमा छ । यस प्रणालीको ‘ब्रोकर मोडुयल’ बाट कुनै पनि निकासी पैठारीकर्ता वा भन्सार एजेन्टले अनलाइनबाट नै भन्सार प्रक्रियामा ‘इन्ट्री’ गर्न सक्छन् । यस प्रणालीको भन्सार मूल्याङ्कनसम्बन्धी ‘भ्यालुएसन मोडुल’ पनि नेपालमा प्रयोगमा आइसकेको छ । यसै प्रणालीभित्रको ‘सेलेक्टिभीटी मोडुयल’ बाट जोखिमका आधारमा पेस भएका माल वस्तुको परीक्षणका लागि रातो, पहेलो, हरियो र निलो मार्ग निर्धारण हुन्छ । सोही आधारमा भन्सारबाट पूर्ण भौतिक परीक्षण गर्ने, कागजातमात्र परीक्षण गर्ने, पीसीए गर्नेगरी जाँचपास गर्ने वा केही हेर्दै नहेरी मालवस्तुको जाँचपास गर्नेमध्ये कुनै प्रक्रिया निर्धारण हुन्छ ।
अनलाइनबाट निगरानी र नियन्त्रण
भन्सार जाँचपास प्रक्रियामा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न अनलाइन प्रणालीबाटै निगरानी र नियन्त्रण गर्ने व्यवस्था गरिएको छ । आधुनिक प्रविधिको प्रयोग गरी कार्यालयभित्रै ‘लेन’ बाट र विभाग तथा मन्त्रालयबाट ‘वान’ बाट अनुगमन गरिन्छ । यस प्रणालीमा जाँचपासकै क्रममा भएका गलत घोषणा सच्च्याउन लगाउने र आवश्यक परे विभागबाटै भौतिक परीक्षण गर्नेसमेत कार्य गरिँदै आएको छ । यस कार्यका लागि भन्सार विभागमा छुट्टै शाखासमेत तोकेर भन्सार कार्यालयको जाँचपास प्रक्रियाको अनलाइन नियन्त्रण र निगरानी गर्ने कार्य हुँदै आएको छ ।
ई–पेमेन्ट
त्यसैगरी भन्सार कार्यालयबाट निर्धारण गरेको राजस्व भुक्तानीका लागि नगद बोकेर भन्सार कार्यालयसम्म लैजानु व्यवसायीका लागि ठूलो समस्याका रूपमा रहेको थियो । विगतमा बाटोमा चोरिने, हराउने, लुटिने र कतिपय अवस्थामा यस्ता रकम पक्राउ परी हुण्डी गर्न हिँडेको भनी कानुनी कारबाहीसमेत भएका छन् । यी समस्याबाट व्यवसायीलाई छुटकारा दिलाउन र घरबाटै अनलाइन भुक्तानी गर्न
मिल्नेगरी गत वर्षदेखि नै भन्सार कार्यालयमा भुक्तानी गर्नुपर्ने रकम भुक्तानीका लागि ई–पेमेन्ट सुरु गरिएको छ । यस प्रणालीबाट भन्सारमा भुक्तानी गर्नुपर्ने राजस्व रकम घर वा कार्यालयबाटै इपेमेन्टको माध्यमबाट भुक्तानी गर्न सहज भएको छ ।
अन्त्यमा
समग्रमा भन्सार प्रशासन आयात निर्यात व्यापारलाई सहजीकरण गरी आपूर्ति चक्रलाई सुचारु राख्ने प्रशासन हो । भन्सारमा सहजीकरण भन्नेवित्तिकै वैध व्यापार र कार्य प्रक्रियामा सहज बनाउन आवश्यक व्यवस्था गरी उचित संयन्त्र र प्रक्रिया तोकिनु पर्छ । नेपालको भन्सार प्रशासनमा प्रयोगमा आएका प्रणाली तथा प्रक्रियासमेतका आधारमा हेर्दा व्यापार सहजीकरणमा नेपालको भन्सार प्रशासन विश्वका धेरै भन्सार प्रशासनभन्दा कम छैन । विश्व व्यापार सङ्गठन र विश्व भन्सार सङ्गठनले निर्देशित गरेका प्राय व्यापार सहजीकरणका प्रावधान नेपालको भन्सार प्रशासनले कानुनी रूपमै व्यवस्था गरी क्रमशः व्यावहारिक रूपमै कार्यान्वयन गर्दै आएको छ । सुधार, विकास र सहजीकरण भनेको निरन्तर चलिरहने प्रक्रिया हो । सोही आधारमा अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा आएका नयाँ नयाँ प्रविधि र प्रयाससमेत निरन्तर अवलम्बन गर्दै अन्तर्राष्ट्रिय समुदाय सँगसँगै अगाडि बढ्नु भन्सार प्रशासनको आवश्यकता हो ।
भन्सारमा मालवस्तुको भौतिक परीक्षण सहज बनाउन, थप कन्टेनर स्क्यानर मेसिनको समेत व्यवस्था गरी सञ्चालनमा ल्याउन भने केही ढिला भइसकेको छ । अब नेपालको भन्सार प्रशासनमा सुरुवात गर्न बाँकी रहेको, अन्तर्राष्ट्रिय स्तरका व्यापार सहजीकरणका लागी प्रचलित प्रणाली र आधुनिक प्रविधिको प्रयोग गर्न बाँकी भए प्रयोग गर्दै अन्य भन्सार प्रशासनभन्दा कम नभएको व्यवहारबाटै प्रमाणित गर्नेतर्फ समेत सोच्नु जरुरी भइसकेको छ ।
लेखक भन्सार विभागका निर्देशक हुनुहुन्छ ।