मृत्युको रूप–आकार केही देखिन्न
तर यो कहीँ–कतै छैन पनि होइन
यो आउँछ समय–गणित मिलाएर
तर आफ्नो इच्छाले होइन ।
मृत्यु भूकम्प होइन
तर यसको कम्पनसँगै आउँछ
आँधीको बेगमा हुर्रिएर उडी आउँछ
यो बग्छ बाढीको छालमा उर्लेर
पहिरोसँग खस्तै आउँछ गतिमान भएर
जहीँ–तहीँ अदृश्य उपस्थिति जनाउँछ मृत्यु
जन्म र मृत्यु त पूर्णिमा र औँसीजस्तै
दिन र रातसरी आलो–पनलने गरी आउँछ ।
अन्तरिक्षको जन्म र मृत्यु छ वा छैन !?
आकाशको प्रारम्भ र अन्त्य कहाँ ?
गुलाबको वासनासरी अदृश्य मृत्यु
सूर्य किरण जस्तो अदृश्य–अमूर्त !
हामी देख्छौँ भौतिकको मृत्यु
सौन्दर्य–प्रणयको मृत्यु कहाँ !
जन्म लिएर आउँछ त मृत्यु पनि ?
बारम्बार जन्मन्छ होला; बारम्बार मर्छ त ?
यसैले म मृत्यु आह्वान गर्छु
मृत्यु पर्खन्छ, पर्खिरहन्छु
तर पनि मेरो इच्छामा मृत्यु आउन्न,
म सम्म आउन–
मृत्यु पनि सायद आदेश पर्खन्छ !!
(...मृत्युले पनि निर्धारित कार्य गर्नै पर्छ)
कठोपनिषद् २.३.३