• १२ असोज २०८१, शनिबार

झापा गाउँपालिकालाई प्रदेश स्तरीय भलिबल उपाधि

blog

उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का

बिर्तामोड, माघ ८ गते । झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकालाई ३-० को सोझो सेट हरायो ।

झापाले २६–२४, २५–२३, २५–२२ को जित निकालेको हो । उपाधिसँगै झापाले एकलाख ११ हजार १११ रुपियाँ पुरस्कार पायो । उपविजेता दमकले ६१ हजार रुपियाँ प्राप्त गरेको छ । फाइनल खेलमा झापाका रविन गौतम म्यान अफ दि म्याच हुनुभयो । उहाँले एक हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

प्रतियोगिताकै उत्कृष्ट ब्लकर झापाकै रोहित शिवाकोटी, उत्कृष्ट स्पाईकर झापाका समिप श्रेष्ठ, उत्कृष्ट कुईकर दमकका पुकार तामाङ र उत्कृष्ट लिफ्टर दमककै राजन लिम्बू बन्नुभयो । उत्कृष्ट सबैलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

विजेतालाई प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।