• १६ वैशाख २०८२, मङ्गलबार

शहीद सप्ताहमा विविध कार्यक्रम

blog

काठमाडौँ, माघ ८ गते । काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरी साप्ताहिक रूपमा यस वर्ष शहीद दिवस मनाउने निर्णय गरेको छ। महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा बसेको मूल समारोह समितिको बैठकले सो निर्णय गरेको हो।

वि.सं. १९९७ मा प्राणदण्ड पाएका शहीदहरूले सहादत प्राप्त गरेको स्थानमा र माघ १६ गते लैनचौरमा सबै ज्ञात अज्ञात शहीदको सम्झनामा स्मृति सभा गर्ने निर्णय भएको हो। माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गर्ने चार जना शहीद र त्यसपछि भएका राजनीतिक परिवर्तनका क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई शहीद सप्ताहका रूपमा मनाइँदै आएको छ। वि. सं. २०१२ देखि विद्यमान महानगरको संयोजकत्वमा गठित समितिले शहीद सप्ताहको कार्यक्रम आयोजना गर्दै आएको हो। 

नागरिक स्वतन्त्रताका पक्षमा निर्भिक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरूको सपना स्मरण गर्दै शहीद दिवस मनाउने गरिन्छ। 

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि.सं. १९९७ माघ १० देखि १५ गतेका बीच चार जनालाई प्राण दण्ड दिइएको थियो। त्यो वर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो।