• १२ असोज २०८१, शनिबार

हलेसीमा गाइड सेवा

blog

राजकुमार भट्टराई

खोटाङ, माघ ८ गते । त्रि–धार्मिक स्थल तपोभूमि हलेसीमा आउने पर्यटकले यथार्थ बुझ्न पाउने भएका छन्। हलेसी र आसपासका पर्यटकीय क्षेत्रका बारेमा पर्यटक घुमाउन र यथार्थ बुझाउन नगरपालिकाले गाइड (मार्गदर्शक) तालिम प्रदान गरेको छ।  

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)सँगको सहकार्यमा नगरपालिकाले ३१ जनालाई स्थानीय पर्यटक गाइडसम्बन्धी आठदिने तालिम प्रदान गरेको हो। तालिमको समापनसँगै पर्यटन गाइड उत्पादन भएका छन्। तालिमबाट हलेसी र आसपासका पर्यटकीय क्षेत्रको ऐतिहासिक कुरा पर्यटकलाई बुझाउन सकिने भएको सहभागी मोतीराज राईले बताउनुभयो। 

फिल्डमै पुगेर सबै कुरा सिक्न पाएकाले आगामी दिनमा अरूलाई त्यसको महत्त्व बुझाउन सकिने अर्का सहभागी सरला राई बताउनुहुन्छ। तालिमबाट प्राप्त ज्ञानसँगै त्रि–धार्मिक स्थल हलेसी र आसपासका गुफाका बारेमा थप अन्य पुस्तकबाट पनि अध्ययन गरेर पर्यटकलाई गाइड गर्ने सोच रहेको तालिममा सहभागी विमला कटवालको भनाइ छ। 

तालिमको समय छोटो भए पनि फिल्डमै लगेर ऐतिहासिक तथ्यसँगै गाइडलाई आवश्यक कुरा प्रशिक्षण गरिएको (नाथम)का वरिष्ठ प्रशिक्षक शुभम पौडेलले बताउनुभयो। गाइडहरूले पर्यटकलाई हलेसी र आसपासका धार्मिक तथा पर्यटकीय स्थलको महत्त्वका विषयमा विभिन्न ढङ्गले वर्णन गर्ने गरेको पाइएको उपमेयर रमेशकुमार राउतको भनाइ छ। अब तालिमपश्चात् हलेसीको खास तथ्य पर्यटकले बुझेर जाने उपमेयर राउतले विश्वास व्यक्त गर्नुभयो। 

यस्तै तालिम समापनसँगै प्रशिक्षार्थीहरूको नाम नगरपालिकाले सूचीकरण गर्ने मेयर विमला राईले बताउनुभयो। तालिम लिएका व्यक्तिको क्षमताका आधारमा नगरपालिकाले रोजगारसमेत प्रदान गर्ने उहाँको भनाइ छ।  

धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरव गुफा, बसाहा गुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, बङ्गलादेश, भुटानलगायतका देशबाट पनि भक्तजन आउने गरेका छन्।  

हलेसीमा हिन्दु, बौद्ध र किराँत धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन्। हिन्दु धर्ममा आस्था राख्नेले यसलाई पशुपतिनाथका रूपमा, बौद्ध धर्मावलम्बीले दोस्रो लुम्बिनीका रूपमा र किराँत धर्मावलम्बीले आदिम भूमिका रूपमा पूजाआजा गर्ने गरेका छन्। हिन्दु, बौद्ध र किराँत तीनवटै धर्मको आ–आफ्नै छुट्टै इतिहास रहेको जानकारहरू बताउँछन्।