• ८ पुस २०८१, सोमबार

रैथाने बाली खरिदमा थप अनुुदान

blog

राजन राउत

हुम्ला, माघ ८ गते । सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बालीको खरिदका लागि अतिरिक्त अनुदान दिने भएको छ। यो अनुदान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तय गरेको खरिद मूल्यमा थप हो। 

गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले रैथाने बालीको उत्पादन खरिद मूल्यमा गाउँपालिकाले अतिरिक्त अनुदान दिने जानकारी दिनुभयो। किसानलाई रैथाने बाली उत्पादनका लागि प्रोत्साहन गर्न अतिरिक्त अनुदान दिने निष्कर्षमा गाउँपालिका पुगेको हो। 

गाउँपालिकाले दिने अनुदानमा अप्रशोधित बाली चिनो, कागुनो र फापरमा प्रतिकेजी १० रुपियाँ र सिमीमा ५० रुपियाँ रहेको छ। त्यसैगरी रैथाने बालीको प्रशोधित अन्नमा चिनो र कागुनोमा प्रतिकेजी १५ रुपियाँ अनुदान दिइनेछ। अब किसानले पाउने मूल्य चिनो अप्रशोधित प्रतिकेजी १३० रुपियाँ र प्रशोधित १८५ रुपियाँ हुनेछ भने कागुनो अप्रशोधित प्रतिकेजी १३० र प्रशोधितलाई प्रतिकेजी १८५ रुपियाँ हुनेछ। फापरको मूल्य प्रतिकेजी एक सय रुपियाँ र सिमी प्रतिकेजी दुई सय रुपियाँ पर्नेछ। यसका लागि सिमकोट गाउँपालिकाले १० लाख रुपियाँ छुट्याएको छ। 

यी रैथाने बाली खरिदका लागि खाद्य कम्पनीले चिनो (चामल) प्रशोधित प्रतिकेजी १७० रुपियाँ र प्रशोधन नगरेको चिनोको प्रतिकेजी १२० रुपियाँ, कागुनो पनि सोही मूल्य निर्धारण गरेको छ। फापर दानाको प्रतिकेजी ९० रुपियाँ र सिमी प्रतिकेजी १५० रुपियाँ रहेको छ। खाद्य कम्पनीको सिमकोट शाखाले सिमकोट गाउँपालिकासँग सिमी, चिनोको चामल र फापर दाना ५०–५० क्विन्टल र कागुनो पाँच क्विन्टल गरी १५५ क्विन्टल किसानसँग खरिदका लागि सम्झौता गरेको छ। किसानसँग खरिद गरेर गाउँपालिका केन्द्रसम्म ल्याउन लाग्ने ढुवानी खर्च भने गाउँपालिकाले बेहोर्ने भएको छ।