• ८ पुस २०८१, सोमबार

पक्की पुलले जोड्यो कर्णाली र सुदूरपश्चिम

blog

सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदीमा बनेको पक्की पुल । तस्बिर : नविन सुवेदी

नवीन सुवेदी

सुर्खेत, माघ ७ गते । कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदीमाथि पक्की पुल निर्माण भएपछि अन्तरप्रदेश जोडिएका हुन्। 

तीन सय मिटर दूरीको पुल ३२ करोड रुपियाँ लागतमा निर्माण सम्पन्न भएको हो । पुल बनेपछि पश्चिमका नागरिकलाई जोखिम मोलेर कर्णाली नदी तर्नुपर्ने बाध्यता हटेको छ । यसअघि सुदूरपश्चिमसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज हुनेगरेको थियो । 

‘अब पुल बन्यो, भारतबाट दैनिक उपभोग्य सामग्री सस्तो र छिटो यहाँ आउनेभयो,’ पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले भन्नुभयोे, ‘यसअघि सामानकै लागि झोलुङ्गे पुल र नाउ तर्दै कर्णाली चिसापानी हुँदै कटासे, गौरीफन्टा र कैलालीका विभिन्न बजारमा पुग्नुपर्ने बाध्यता थियो ।’ 

दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भण्डारीले बताउनुभयो । पुल बनेपछि कर्णालीका १० वटै जिल्लाका नागरिकलाई भारत जान होस् या व्यापार व्यवसायका लागि सहज हुने उहाँको भनाइ छ ।