• १३ साउन २०८१, आइतबार

स्वयंवरको औँठी [कथा]

blog

थाहा छैन किन मलाई यो पूर्णेको रातप्रति यतिविघ्न मोह लागेर आउँछ । रात छिप्पिँदै जाँदा झन् खुल्दै गएको जूनलाई हेरिरहन पाउँदा मनमा एक प्रकारको ऊर्जा थपिएको महसुस हुन्छ । प्रायः म छुटाउँदिन पूर्णेको रातमा कौसीमा बसेर पुराना गीतहरू सुन्नलाई पनि । तर अरू बेलाको पूर्णेको रात र आजको पूर्णेको रातमा धेरै फरक थियो । अघिल्लो पूर्णेको रातमा म एक्लै थिएँ, आज मेरी उनी मेरो साथमा छिन् । हातमा हात समाएर । 

‘यो बाँझो जीवनमा तिम्रो आगमनले हरियाली छाएको छ । सधैँ कामको व्यस्तताले गर्दा मैले माया, प्रेम भन्ने नै झन्डै भुलिसकेको थिएँ । म तिमीलाई कसरी धन्यवाद भनुँ मुना !’ भनेर उनको निधारमा माया गर्छु । 

उनी एउटा सानो बच्ची मस्त निद्रामा परेजस्तै मेरो छातीमा टाउको राखेर निदाइसकेकी हुन्छिन् । म उनलाई बोकेर ओछ्यानमा लगेर सुताउँछु । एकछिन उनको अगाडि बसेर हेरिरहन्छु उनी निदाएको । कति राम्री देखिएकी मेरी मुना । बिचरी उनको बिहानैको ड्युटी छ । म पनि उनको छेउमा पल्टिन्छु । ‘तिमी त दिनभरि फुर्सदमा छौ । म अफिस गएपछि फेरि सुत न । म अफिस नजाऊन्जेल उठेर केही गफ त गर ।’ उनले मिठो स्वरमा भन्दा म निद्राबाट झसङ्ग हुन्छु । ‘माफ गर मुना, म त भुसुक्कै निदाएछु । तिमी सधैँ भन्छौ तर कहिल्यै तिमीसँगै उठ्नै सक्दिनँ म’, उनलाई फकाउँदै भन्छु । 

बिहानको पौने पाँच भइसकेको हुन्छ । उनी अफिसको लुगा लगाउँदै गर्दा उनका सामान मिलाइदिन्छु । ‘हो यसरी मैले भनेको हरेक कुरा तिमीले ग¥यौ भने मेरो अनुहारमा सधैँ खुसी मात्र देख्ने छौ ।’ अनुहारमा क्रिम लगाउँदै भन्छिन् उनी । तल गेटमा अफिसको गाडीको हर्न बज्छ । उनी चाँडोचाँडो लाग्छिन् अफिसतिर । बाहिर अझै अन्धकार नै छ । पुसको महिना । भित्ताको घडीले बिहानको पाँच बजेर दस मिनेट गएको सङ्केत गरिराखेको छ । आँखा पिरो भइराखेका छन् अझै मेरा । सायद निद्रा अधकल्चो भएर होला । 

‘बिचरी मुना पुस महिनाको चिसोमा त्यो पनि यति बिहान अफिस जानुपर्छ । म भने ओछ्यानमा गुटुमुटु भएर पल्टिराखेको छु’, मनमा अनेक कुरा खेलिरहन्छन् । एउटा सुन्दर सपनाको बगैँचा सिर्जना गरेर त्यसमा सुन्दर फलहरू फुलाउनलाई चाहेको थिएँ मैले जसमा म, उनी र हाम्रा हुनेवाला बच्चाहरूको सुन्दर बगैँचा । 

‘के गर्दै तिमी ? सरहरूसँग बसेर कफी पिउँदै छु । मसँग बसेर कफी नपिई चित्त नै बुझ्दैन रे सरहरूलाई’, मेसेन्जरमा मेसेज आउँछ मुनाको । 

‘म पनि तिमीलाई सम्झँदै चिया पिउँदै छु, मेरी प्यारी बूढी’, मेसेजको जवाफ फर्काउँछु । 

‘बिहान हतारमा अफिस आएँ । सामानहरू यताउता भएका होलान्, राम्ररी मिलाएर मलाई सहयोग गर है । आजकल तिमीले कोठा सफा गरेको छैन जस्तो लागेको छ । बेलुका घर आउँदा सफा होस् नि !’ अर्को मेसेज आउँछ मुनाको । ‘चिन्ता नमान मायालु, तिमी आउँदा चिटिक्क देख्ने छौ हाम्रो कोठा । अर्को कुरा कफी धेरै नपिऊ है । तिमीलाई ग्यास्ट्रिक छ । बरु तातोपानी पिई राख । खानाचाहिँ जस्तै व्यस्त भए पनि समयमै खानू । म मेरी बूढीलाई बिमारी भएको हेर्न सक्दिनँ’, जवाफ फर्काउँछु ।  

हुन पनि हो, अचेल राम्ररी कोठा सफा गर्नै पाएको छैन मैले । काम पनि छैन, फुर्सद पनि छैन भनेझैँ भएको छ । ओछ्यानको छेउको टेबलमा राखेको फोटोमा झट्ट आँखा पुग्छ जसभित्र हाम्रो स्वयंवर गरेको दिनको फोटो सजिएको छ । ‘तिमीलाई थाहा छ, यो फोटो दिनमा तीन चार पटक हेर्न पाइनँ भने मन मेरो त्यसै अतालिन्छ । कृपया, अरू जे भए पनि यो फोटोचाहिँ केही नहोस् कोठा सफा गर्दा’, मुनाले मलाई धेरै पटक भनेकी छिन् । उनले त्यसोभन्दा मेरो मन फुरुङ्ग हुन्छ । उनलाई यो एउटा फोटोको त यति मूल्य छ भने झन् मेरो कति होला ! सम्झिँदै उनीलाई अहिल्यै अफिसमा गएर नअघाउन्जेल कसेर अँगालो हालुँ जस्तो हुन्छ । भगवान् तिमीलाई कसरी म धन्यवाद भनुँ कि यस्तो माया गर्ने श्रीमती मलाई जुराइदिएकोमा । 


०००

‘मुना धेरै भयो हामीले तिम्रो मन पर्ने ठाउँमा गएर तिम्रो मन पर्ने झोल मम नखाएको । त्यसैले तिम्रो अफिस छुट्टी भएपछि म तिमीलाई लिन आउँछु’, फोन गरेर भन्दा मुना दङ्ग पर्छिन् । सानो बच्चाजस्तै छिन् अझै पनि । घरभन्दा पनि बाहिर उनी बढी रमाउँछिन् घुमफिर गर्नमा । 

‘कति राम्रा छन् तिम्रा हातका आँैलाहरू । झन् यो औँठीले कति सुन्दर देखिएको छ औँलाहरूलाई । अनि मुना, खोई त स्वयंवरको औँठी चाहिँ ?’ म उनको औँलालाई खेलाउँदै प्रश्न गर्छु । ‘तिमी पनि के भाको होला । सधैँ लगायो भने त पुरानो भइहाल्छ नि, तिम्रो पहिलो उपहार जसलाई म कुनै हालतमा पुरानो हुन दिने छैन । त्यसको बदलामा यो छ नि !’ उनले लगाइराखेको सानो औँठी देखाउँदै भन्छिन् । 

‘थाहा छ, यो औँठी पनि मेरा लागि सारै महत्वपूर्ण छ । मैले कस्तो दुःख गरेर बनाएको औँठी हो । यो औँठी म मरेको दिन मेरो चित्तासँगै जल्ने छ’, उनी भावुक हुँदै भन्छिन् । 

‘सरी, मैले मन दुःखाएँ जस्तो लाग्यो । मैले यो नलगाई स्वयंवरको औँठी लगाऊ भन्न कदापि खोजेको थिइनँ । कहाँ छ भन्न मात्र जान्न चाहेको थिएँ’, उनलाई फकाउनतिर लाग्छु । हामी बसेको टेबल नजिकैको केटोले उसको प्रेमिकाको गालामा म्वाइँ खान्छ, जुन हामी दुईले एकै साथ देख्छौँ । मुना हल्का लजाउँछिन् मलाई हेरेर । 

‘के छ विचार ? मचाहिँ सोझै तिम्रो ओठमा म्वाइँ खान्छु हुन्छ ?’ म अलिक रोमान्टिक हुँदै उनलाई जिस्क्याउँछु । ‘जबसम्म हामी एकअर्कालाई पूर्ण रूपमा चिन्दैनौँ, बुझ्दैनौँ तबसम्म हामीबीच त्यस्तो केही हुँदैन जुन कुरो मैले बिहेअघि नै तिमीलाई भनेको थिएँ’, उनको फेसमा एक प्रकारको क्रोध देखापर्छ । 

‘मैले ठट्टा मात्र गरेको हो, प्यारी बूढी ।’ उनको क्रोधलाई शान्त पार्नतिर लाग्छु । 

बाहिर बिस्तारै गाडीहरू पातलिँदै गइराखेका थिए । रेस्टुराँको ढोका बाहिर निस्कँदा चिसो स्याँठले हामी दुईलाई छोप्छ । मैले ज्याकेट निकालेर उनलाई लगाइदिन्छु । मेरी श्रीमती मेरी मुना कति सोझी छे यो एक्काइसौँ शताब्दीमा पनि । 


०००

‘कृपया एक पटक मात्र तपाईंसँग कुरा गर्न चाहन्छु । विगत दुईतीन महिनादेखि तपाईंसँग भेट्न खोजिराखेको थिएँ । बल्ल तपाईंको नम्बर पाएँ । मात्र एक पटक तपाईंसँग भेटेर कुरा गर्न चाहन्छु ।’ मोबाइलमा मेसेज आउँछ । हुन त यही मोबाइल नम्बरबाट धेरै पटक कल नआएको त होइन । तर आज यो मेसेज पढ्दा अचम्म लाग्छ । 

‘हेल्लो भन्नुस् के कामले मलाई मेसेज गर्नुभएको थियो ?’ मेसेज पठाएको नम्बरमा कल गरेर सोध्छु । ‘भोलि बिहानको ८ बजे पुतलीसडकमा भेट्न चाहन्छु । तपाईंको मात्र आधा घण्टा समय लिन्छु । अनि त्यही बेला सबै कुरा गर्नेछु’, अपरिचित केटीले बोल्छिन् । कहिल्यै नदेखेको नम्बर, नसुनेको स्वर । मनमा अनेकौँ कुरा खेलिरहन्छन् । अब बारबार आँखा घडीमै पुगिराखेको हुन्छ मेरा । 

०००

‘नमस्कार ! कतिखेर आउनुभयो ? म आउन त ढिला गरिनँ नि ?’ म प्रश्न गर्छु ।  ‘होेइन, होइन म पनि भित्र पसेको मात्र छु’, उनी मुस्कुराउँदै भन्छिन् । उमेरले त्यस्तै चौबीस–पच्चिस कि । गहुँगोरी ठिक्कको जीउडाल । अनुहारमा एक प्रकारको बेचैनी प्रस्ट झल्किरहेको थियो । 

‘तपाईं नराम्रोसँग फस्नु भएछ । मलाई पछि मात्र थाहा भयो’, हल्का औपचारिकतापछि उनले भनिन् । 

‘माफ गर्नु होला, मैले बुझिनँ । के भन्न खोज्नुभएको ? कस्तो र के फस्ने कुरा गर्नुभएको ?’ मनमा चिसो पस्छ र सोधिहाल्छु । ‘अरू केही होइन । तपाईंको बिहेको कुरा भन्दै छु । तपाईंले जोसँग विवाह गर्नुभयो उनको त पहिलेदेखि नै प्रेमी छ । उनी र उनको प्रेमी मिलेर तपाईंलाई बलिको बोका बनाएका छन् ।’  ‘के नचाहिँदो कुरा गर्नुभएको तपाईंले ? के यसैका लागि मलाई बोलाउनु भएको ? के छ तपाईंसँग प्रमाण र यी सब बेकारको आरोप लगाउँदै हुनुुहुन्छ ?’

‘हा, हा, हा, म कुनै प्रमाणबिना बोलिराखेको छैन । तपाईंको श्रीमतीले दाहिने हातको माझी औँलामा लगाइराखेको औँठी उनैको प्रेमीले जन्मदिनमा दिएको उपहार हो र तपाईंको ओछ्यान छेउमा रहेको फोटो फ्रेमभित्र तपाईंहरूसँगै उभिएको केटा नै उनकै प्रेमी हुन्’, उनी धाराप्रवाह बोलिरहन्छिन् । 

‘ल योभन्दा बढी अरू कस्तो प्रमाण चाहियो र देखाऊँ तपाईंलाई अरू पनि म !’ भन्दै कागजका पन्नाहरू र केही फोटाहरू (मुना र उनको प्रेमी साथ भएर खिचिएको) फिजाउँछिन् ।‘म तपाईंको श्रीमतीको प्रेमीको श्रीमती हुँ जसरी तपाईंलाई फसाइयो त्यसरी नै मलाई पनि । मैले धेरै कोसिस गरेँ तपाईंलाई भेट्न तर मलाई धम्की दिइएको थियो । त्यसैले तपाईंलाई विवाहअघि सचेत गराउन सकिनँ । तर तपाईंको अझै केही बिग्रिसकेको छैन भनेर नै यहाँ आएको छु ।’ अपरिचित केटीको आँखामा आँसु टिलपिल गरिराखेको हुन्छ । मेरो आँखा वरिपरि चाहिँ मेरी मुना, ओछ्यानको छेउमा सधैँ उनले प्यारो गरेर हेरिरहने फोटो र औँलामा भएको रातो औँठी घुमिरहन्छ ।