हरेक मानिसको जीवनमा सकारात्मक या नकारात्मक भावना आउने गर्छ । क्रोध पनि भावनाको प्रकार हो तर प्रायः नकारात्मक भावनाको स्थिति हो; जो सामान्यतया शत्रुतापूर्ण विचार, शारीरिक उत्तेजना र दुर्भावनापूर्ण व्यवहारसँग जोडिएको हुन्छ । मानिसको इच्छाविरुद्ध लगाइएको कुनै पनि प्रतिबन्ध क्रोधको परिणाम हुन्छ र जब क्रोध असमान्य रूपमा नियन्त्रणबाहिर पुग्छ, तब मानिस खलनायक, तर्कहीन र आक्रामक बन्न पुग्छ । क्रोधमा तीन तत्व हुन्छ । शारीरिक प्रतिक्रिया, सङ्ज्ञानात्मक अनुभव र मानिसको व्यवहार तर कहिलेकाहीँ क्रोधले कुनै जटिल समस्याको समाधान खोज्न पनि प्रेरित गर्छ ।
महाकवि कालिदासले क्रोध के हो र क्रोधको प्रभाव कस्तो र कसरी पर्छ भनेर अभिज्ञानशाकुन्तलम्मा सुन्दर तरिकाले चित्रण गरेका छन् । अभिज्ञानशाकुन्तलम्मा शकुन्तला आफ्नो प्रेमीको यादमा मग्न भएर ऋषि दुर्वासा आफ्नो आश्रममा आएको चालै पाउँदिनन् । आफ्नो सेवामा नजुटी अन्यन्त्रै ध्यानमा मग्न भएकोमा ऋषि अत्यन्त रुष्ट बन्नुहुन्छ र आफ्नो घोर अपमान भएको महसुस गरेर शकुन्तलालाई पनि प्रेमीले उनको वास्तै नगरी उनलाई भुल्नेछन् भनेर श्राप दिनुहुन्छ । ध्यान भङ्ग भएपछि शकुन्तलाले आफ्नो गल्ती महसुस गर्छिन्, ऋषिसँग क्षमायाचना गर्छिन् र ऋषिको सेवा सुश्रुषा गर्छिन् । ऋषिले फेरि उनीहरूको मिलन हुन सक्ने बताउँछन् तैपनि ऋषिको क्रोधका कारण शकुन्तलाले लामो समय प्रेमीको वियोगमा गुजार्नुपर्ने हुन्छ ।
मानिसले क्रोध शान्त गर्न नसक्नुको कारण शरीरमा हुने विभिन्न रासायनिक संरचना नै हो । कुनै घटना हुनासाथ मानव शरीरले प्रतिशोध लिन उक्साउँछ तर व्यवहारमा क्रोधको समयमा मानिसको झन् बेइज्जत भइरहेको हुन्छ ।
जब मानिस क्रोधित हुन्छ, उसलाई शान्त रहन लगभग असम्भव हुन्छ र क्रोधलाई शान्त बनाउन निकै मेहनत गर्नुपर्ने हुन्छ । मानिसलाई आफ्नोविरुद्ध कुनै धम्की आएको या अपमानजनक काम भएकोजस्तो महसुस हुनासाथ क्रोध सुरु हुन्छ । क्रोध उठेको समय मानिसले अर्को पक्ष सही या गलत भनेर विवेचना गर्दैन । असलमा शकुन्तलाको मनसाय ऋषिलाई अपमान गर्ने थिएन, उनी त आफ्नो प्रेमीको यादमा मग्न थिइन् र ऋषिको ध्यान दिन सकिनन् तर ऋषिलाई अपमान भएको महसुस भयो र क्रोध उत्पन्न भयो । क्रोधका लागि कुनै घटना नै हुनु जरुरी हँुदैन, मानिसले अनुचित तरिकाले हमला या आफूलाई विश्वासघात या अपमानित भएको ठान्नुका साथै शक्तिहीन महसुस गरेको अवस्थामा पनि क्रोध आफसे आफ प्रकट हुन्छ किनभने क्रोध मानव जीवनको अनिवार्य रूपले प्रतिशोधी बन्ने अचुक अस्त्र हो, जो बारम्बार प्रकट भइरहन्छ ।
किन गरिन्छ क्रोध ?
मानिस नरिसाएको क्षण हुँदैन या विरलै हुन्छ । जिउने क्रममा आफ्नै आफन्त, सहकर्मीलगायत अपरिचित परिचितसँग क्रोध नै नगरीकन जीवन गुजारेको क्षण कुनै पनि मानवको हुँदैन । यहाँसम्म कि सार्वजनिक महìवका कतिपय विषयमा राजनेतालगायत सरकारसँग पनि रिस उठ्छ । कहिलेकाहीँ अलिकता फोहोर बाटोमा देखियो भने पनि रिस उठ्छ । अरूको निजी जीवनका कुराले समेत मानिसलाई रिस उठ्ने गर्छ ।
कुनै अपरिचित मानिसको अनुहार अचानक देख्दा या आवाज सुन्दासमेत कहिलकाहीँ मानिसलाई रिस उठछ । क्रोध दालभात खाएजस्तै अनिवार्य मानव जीवनको हिस्सा हो र मानिसलाई क्रोध नआउने भन्नेचाहिँ हुँदैन तर संयमित बनेर क्रोधलाई नियन्त्रण गर्ने मानिसचाहिँ धेरै भेटिन्छन् । क्रोध उठ्दा मानिसले अरूलाई अपराधी र आफूलाई पीडित भनेर चित्रण गर्छ र क्रोधमा मानिसले आफूले गल्ती गरेको स्वीकार नै गर्दैन र गल्ती अर्को पक्षले मात्र गरेको ठान्छ ।
पीडित हमेसा निर्दोष हुन्छ । अरूको अत्याचारबाट पीडित भएको हुन्छ । मनोविज्ञानमा पीडितको परिभाषा निरपराध, अपराधमुक्त हो भने पीडक भनेको अपराधी हो । परोक्ष या प्रत्यक्ष रूपले जब मानिस क्रोधित बन्न पुग्छ, त्यतिखेर आत्म उन्नति हुने सन्देश दिएर आफूले आफैँलाई महान् ठान्न पुग्छ । सङ्क्षेपमा मानिस आफूलाई अरूभन्दा हरेक कोणबाट उत्तम ठान्न पुग्छ । विषयको गरिमा जस्तोसुकै (सानो या ठूलो) किन नहोस्, क्रोधमा मानिस एउटा निष्कर्षमा पुगिसकेको हुन्छ र त्यो निर्णयबाट उसले अद्भूत आनन्द प्राप्त गर्छ ।
अनेक असल गुणका साथ हीन या अक्षमतालाई पनि मानिसले जन्मजात नै लिएर आएको हुन्छ किनभने शरीर संरचनामा भएको अङ्ग र रसायनलाई सामान्य तरिकाले परिवर्तन गर्न सकिन्न । कुनै घटना हुनासाथ मानव शरीरमा अवस्थित अधिवृक्क ग्रन्थी (एडरिनल ग्ल्यान्ड)ले शरीरमा तनाव हर्मोन (एड्रिन्यालिन र कर्टिसोल)को मात्रा बढाइदिन्छ र मस्तिष्क अधिक सक्रिय हुन पुग्छ । आँत र मांसपेशीबीचको रक्त प्रवाह अलग्गिन पुग्छ । रक्तचाप, हृदय गति र श्वासप्रश्वास बढ्न जान्छ र अन्त्यमा शरीरको तापमान बढ्छ र पसिना आउन थाल्छ; जसले गर्दा मस्तिष्क तेज र एकाग्र हुन पुग्छ । मस्तिष्कले अन्य कुरा सोच्नै सक्दैन र एकोहोरो धुन निकाल्छ या ढिपी गरिरहन्छ र मानिसलाई विषयबाट अलग हुनै दिँदैन । क्रोधको समयमा मस्तिष्क असन्तुलित हुन्छ र मस्तिष्क असन्तुलन हुँदा एउटा विकृत आनन्द पैदा हुन्छ । यसै कारणले हो– पागल मानिस विकृतिपूर्ण तरिकामा रमाएको हुन्छ । पागलपनमा मानिस ज्यादै रमाएको हुन्छ र उसको आनन्दमा खलबल भयो भने उसले हत्या या जघन्य अपराधसमेत गर्छ । यसकारण उसको आनन्दको समयलाई खलबल्याउने प्रयास गर्न हुँदैन । क्रोधमा पनि क्षणिक समयका लागि मस्तिष्क असन्तुलन भएको हुन्छ र मानिसलाई विकृत आनन्द प्राप्त हुन्छ । आफ्नो गरिमा, सम्मान र भावनाको विकास भएको महसुस गर्छ र मस्तिष्कले कुनै घटनाप्रति एकोहोरो सोच उत्पादन गर्न थालेपछि त्यसलाई रोक्न प्रायः असम्भव हुन्छ ।
सशक्तीकरण
क्रोध कहिलेकाहीँ आत्म सशक्तीकरणको मार्ग पनि बन्छ किनभने यसले मानिसलाई अतीतको अवशिष्ट आत्म सन्देहमा जकडिएको भावनात्मक पीडालाई हटाउन मद्दत गर्छ र मानिसको शक्तिहीन अवस्थालाई तत्काल हटाइदिन्छ । क्रोध आउँदैनथ्यो भने मानिस अवसादको सिकार बन्न पुग्थ्यो । केही अवस्था जस्तो कि– बलियोले निर्धो मानिसलाई पिट्यो, साधनस्रोत नभएकालाई भएकाले हेपे भने मानिस तत्काल प्रतिवाद गर्न सक्दैन तर मानिसभित्र रहेकोे सुषुप्त क्रोधले उसलाई समाजमा काम गर्न मद्दत गर्छ ।
क्रोधित हुँदा पनि शरीरमा खुसीकै लहर दौडिन्छ । यही खुसी आत्म प्रेरणाको साधन बन्छ । यसैले विगतमा म क्रोधित भएको थिएँ, म ज्यादा रिसाउँछु भनेर पश्चाताप गरेर कमजोरी महसुस गर्नुभन्दा यो शरीरको एक प्रक्रिया हो भन्नु बुझ्नुपर्छ । जतिखेर म क्रोधित भएको थिएँ, त्यो समय म खुसी भएको र मेरो शरीरले मलाई सान्त्वना दिएको रहेछ भनेर जान्नुपर्छ र वर्तमानमा बिर्सने प्रयास गर्नुपर्छ ।
आफूलाई नैतिक रूपले जतिसुकै श्रेष्ठ महसुस गरे पनि र जतिसुकै तर्क दिन प्रमाण जुटाए पनि क्रोध भएको समयमा गरिएको वार्तालाप या व्यवहारले मानिसलाई भविष्यमा लज्जित बनाउँछ र कतिपय अवस्थामा त कानुनी सजायसमेत दिलाउँछ ।
क्रोधको भावनात्मक प्रतिक्रिया भलाइको अन्य लक्षणसँग पनि सम्बन्धित छ । अनुसन्धानअनुसार मानिस सहयोग पाउँदाको समय खुसी हुन्छन् तर जब यथार्थसँग सामना गर्ने समय आउँछ, दुःखी हुन्छन् । ऋण लिने बेलामा अति खुसी हुने र तिर्ने बेलामा अप्ठ्यारो मान्ने परम्परा जताततै देखिन्छ । एउटा अध्ययनमा विभिन्न देशका मानिसलाई दुई भागमा विभाजन गरियो र उनीहरूलाई सङ्गीत सुन्न लगाइयो । ऋण तिर्ने समयमा अधिकांश मानिसले उदास, खिन्न भावनात्मक सङ्गीत सुन्ने गरे भने ऋण लिने समयमा वा सहयोग पाएको समयमा खुसीको सङ्गीत चुन्ने गरे । अर्को एउटा सैनिकमा गरिएको परीक्षणमा मुकाबला या लड्नुपर्ने स्थितिमा जो क्रोधित भएर लडाइँ गर्थे, उनीहरूले युद्धमा अपेक्षित परिणाम हासिल गरे । उनीहरूले सामाजिक समर्थनको बलियो सञ्जालसमेत स्थापना गरेको देखियो भने जसले क्रोध देखाएनन् र सामान्य आदेशको पालना मात्र गरे, उनीहरूको कार्यसम्पादन औसत मात्र देखियो । यसैले क्रोधलाई सधैँ अनावश्यक मात्र ठान्नु गलत हुन जान्छ । विभिन्न परिस्थितिको सन्दर्भमा उपयुक्त भावनाको आवश्यकता हुन्छ र परिस्थितिअनुसार प्रतिक्रिया दिनु र क्रोधलाई अनुशासित भएर प्रदर्शन गर्नु पनि असान्दर्भिक हुँदैन । लेखको उद्देश्य क्रोधित बन्नु सामान्य रहेछ, यसैले रिसाउन हुँदो रहेछ भन्ने सन्देश दिन खोजिएको होइन । दुवै सुखद र अप्रिय भावनालाई अत्यन्त सूक्ष्म तरिकाले महसुस गर्न र त्यसको अनुसरण गर्नु मानवको महìवपूर्ण काम भन्न खोजिएको हो । अरूसँग प्रतिष्पर्धा गर्दा, लडाइँ गर्दा रिस या क्रोध गर्न उचित स्वस्थ र उपयोगी हुन्छ भन्ने निष्कर्ष विज्ञानको छ किनभने क्रोध मस्तिष्कको अभिव्यक्ति हो तर सबै स्थितिमा क्रोध गर्नुचाहिँ हाम्रो समग्र कल्याणका लागि उपयुक्त हुँदैन । क्रोध पालिराख्दा शरीरमा अन्य रासायनिक परिवर्तन हुन्छ; जुन मानिसको मानसिक तथा शारीरिक आघातको कारण बन्न पुग्छ ।
व्यवस्थापन
मानिसले क्रोध शान्त गर्न नसक्ने कारण शरीरमा हुने विभिन्न रासायनिक संरचना नै हो । कुनै घटना हुनासाथ मानव शरीरले प्रतिशोध लिन उक्साउँछ तर व्यवहारमा क्रोधको समय मानिसको झन् बेइज्जत भइरहेको हुन्छ । क्रोधित मानिसलाई अन्य मानिसको अगाडि अमर्यादित बनाएको हुन्छ । आफूलाई नैतिक रूपले जतिसुकै श्रेष्ठ महसुस गरे पनि र जतिसुकै तर्क दिन प्रमाण जुटाए पनि क्रोध भएको समयमा गरिएको वार्तालाप या व्यवहारले मानिसलाई भविष्यमा लज्जित बनाउँछ र कतिपय अवस्थामा त कानुनी सजायसमेत दिलाउँछ । लडाइँ लड्दा क्रोध गरेर शत्रु पक्षको सर्वनास गरेर विजय हासिल गरेका मानिसलाई समेत समाजले निन्दा गरेका छन् भने क्रोधवश स्वयं युद्ध लड्नेहरूले समेत गल्ती गरेको भनेर पश्चाताप गरेका उदाहरण छन् ।
आखिरीचोटि तपाईंलाई कहिले क्रोध आएको थियो । जब तपाईं क्रोधित हुनु भयो, त्यतिखेर क्रोधले तपाईंलाई भावनात्मक बचाउ ग-यो कि गरेन । त्यतिखेर तपाईंले के अनुभव गर्नुभयो ? चिन्ता, निराशा, अपराध बोध, सर्म, लाजको साथसाथ अहिलेसम्म तपाईं अपमानको द्वन्द्व झेल्दै हुनुहुन्छ कि हुनुहुन्न । अहिलेसम्म त्यो व्यक्ति या विषय, जसको कारणले तपाईं क्रोधित हुनुभयो, भेदभाव या अपमानित भइरहनुभएको छ या तपाईंलाई अझ कमजोर देखाउन या गलत देखाउन त्यो मानिस वा विषयले थुप्रै प्रयास गरिरहेको छ ।
यी प्रश्नको उपयुक्त जवाफ नमिलुञ्जेल क्रोध शान्त हँुदैन भन्ने गरिएको छ र यस्ता प्रश्नको जवाफ सहज तरिकाले प्राप्त गर्न पनि सकिन्न । यसकारण क्रोधको व्यवस्थापन सहज रूपले हुँदैन किनभने एकचोटि कुनै घटनाले क्रोधित भइसकेपछि त्यसलाई सहजतापूर्वक मेटाउन सकिन्न र मानिसलाई क्रोधित बनाइरहेको हुन्छ र मानिसले जतिसुकै संयम भएर घटना लुकाउन खोजे पनि यो मानिसको व्यवहारमा प्रतिविम्बित भएको हुन्छ । क्रोध भनेकै आफैँले आफैँलाई मान्य या सही साबित गर्नका लागि गरिने शरीर र मस्तिष्कको व्यवहार हो र यो मेटाउन सहज हुँदैन तर क्रोधलाई व्यवस्थापन गर्न सकिन्छ ।
क्रोधलाई व्यवस्थापन गर्न सकियो भने यसले सकारात्मक प्रभाव पार्न सक्छ र मानिसलाई सकारात्मक काम गर्न प्रेरित गर्छ तर क्रोधलाई नियन्त्रण गर्न सकिएन भने यसले विनाशकारी परिणाम निम्त्याउन सक्छ । अनियन्त्रित क्रोधले तर्क, शारीरिक झगडा, शारीरिक शोषण, मारपिट र आत्म नोक्सान हुन सक्छ ।
क्रोधको व्यवस्थापन कसरी गर्ने भनेर ब्रह्मानन्द पुराणमा सम्झाइएको छ । पुराणको अध्याय ४४ अनुसार ब्रह्मा र शिवमा एकचोटि भयङ्कर झगडा भयो । शिव अति क्रोधित हुनुभयो र शिवको कोपभाजनमा पर्ने डरले भएभरका सबै देवीदेवता लुक्न पुगे । पार्वतीलाई पनि शिवको क्रोधदेखि डर लाग्यो । त्यसपछि अत्यन्त दुखित पार्वतीले शिवलाई यसरी नै क्रोध गर्ने हो भने आफू पनि सँगै बस्न नसक्ने कुरा बिन्ती गर्नुभयो । शिवले आफ्नो गल्ती महसुस गर्नुभयो र आफ्नो क्रोधलाई ऋषिपत्नी अनुसुयाको गर्भमा पठाइदिनुभयो । अनुसुया बलवान् पुत्रको कामनाले त्रिदेवको तपस्या गरिरहेकी थिइन् र यसैको प्रभावले तीनमध्ये एउटा बालक जन्मियो; जसको नाम दुर्वासा रहन गयो । ऋषि दुर्वासाको कोपभाजनबाट राम, कृष्णलगायत कुनै पनि युगमा कोही पनि बच्न सकेनन् । पूर्वीय दर्शनमा पनि अनुशासित भएर गरिएको क्रोधले मानिस बलवान् हुन सक्छ भन्ने कथा पनि पाइन्छ तर यो कथा यहाँ प्रस्तुत गर्न सम्भव छैन ।
यहाँ के बुझ्न जरुरी छ भने क्रोधबाट टाढा हुँदा क्रोधित र क्रोधबाट प्रभावित हुने सबैको भलो हुने प्रसङ्ग पुराणमा देखाइएको छ । यसका साथै माताको मनोशारीरिक सुस्वास्थ्य र समाजको मधुर वातावरणले शिशुको भविष्यको स्वास्थ्य निर्धारण गर्छ । क्रोध अवस्थामा संसर्ग भए गर्भ रहेको बालक पनि क्रोधित हुन्छ भन्ने मान्यता पूर्वीय दर्शनमा छ भने विज्ञानमा पनि क्रोधको समय शरीरमा अनेकाँै रासायनिक परिवर्तन हुने र क्रोधको समय भ्रूण रहन गयो भने जन्मिने बालकमा समेत शारीरिक मानसिक समस्या देखा पर्न सक्छ भनिएको छ ।
क्रोध व्यवस्थापन गर्न अहिले रणनीतिक रूपमै केन्द्र खुलेको छ तर सबैभन्दा महìवपूर्ण त क्रोध नियन्त्रणभन्दा बाहिर गयो भने तत्कालको स्थितिबाट आफू टाढा जानु अर्थात् स्थितिबाट बाहिर निक्लनु नै समाधान भनिएको छ । शिवले क्रोधको व्यवस्थापन गरेपछि शिव र पार्वतीमा मिलाप हुनुका साथै देवता शिवसमक्ष प्रकट भएको पुराणमा देखाइएको छ । समयले धेरै कुरा समाधान गरिदिन्छ । त्यसैले क्रोध आउनासाथ एकान्तमा बसेर चिन्तन मनन गर्नुपर्छ र म किन क्रोधित भएँ भनेर सटिक कारण पत्ता लगाउन आवश्यक हुन्छ । विभिन्न रणनीतिक योजना बनाएर क्रोध हटाउन सकिन्छ र आजकल क्रोध व्यवस्थापनका लागि तालिम, ध्यानकेन्द्रसमेत खुलेका छन्; जसले क्रोधको व्यवस्थापन गर्न मद्दत गर्न सक्छ ।