• १२ असोज २०८१, शनिबार

भरिभराउ पर्यटकीय क्षेत्र

blog

लीलाराज खड्का 

बिर्तामोड, माघ ७ गते  । पिकनिकको सिजनमा झापा तथा इलामका पर्यटकीय स्थल भरिभराउ छन्। झापाको दोमुखा, जामुनखाडी, ह्याप्पी ल्यान्ड कनकाई, कालिका सिमसार, धनुषकोटीधाम, इलाम र झापाको सिमानास्थित माई नगरपालिका–२, ह्याप्पी ड्रिम्स (ह्याप्पी ल्यान्ड) चेप्टीमा पुसको पहिलो हप्तादेखि नै भीड बढेको ह्याप्पी ड्रिम्सका सञ्चालक दिनेश शिवाकोटीको भनाइ छ।   

हाल नेपाल मात्रै नभएर छिमेकी मुलुक भारत, बङ्गलादेश र भुटानबाट समेत यस क्षेत्रमा घुम्न र पिकनिक खानका लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेको सिवाकोटीले बताउनुभयो। 

यता झापाको ह्याप्पी ल्यान्ड सेल्फी डाँडामा नेपालसमेत नभएर छिमेकी देश भारतबाट समेत घुम्न र पिकनिक खान दैनिक सयौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको सञ्चालक मनोज सिवाकोटीको भनाइ छ। पिकनिकका लागि अझै माघ महिना र फागुनको दोस्रो हप्तासम्म यो भीड यथावत् रहने सिवाकोटीको भनाइ रहेको छ। 

पिकनिक र शैक्षिक अवलोकन भ्रमणका लागि समेत देशभित्र तथा छिमेकी देश भारतबाट समेत बर्सेनि हजारौँको सङ्ख्यामा घुम्नका लागि हाल यो स्थान देशमै प्रख्यात कहलिएको छ। दैनिक रूपमा पिकनिक खान रमाइलो गर्न र शैक्षिक अवलोकनका लागि यस क्षेत्रमा भीड लाग्ने गरेको चेप्टीका व्यवस्थापक नीतेश ओलीले बताउनुभयो।

पहाडको बीचबाट झर्ने गरी बनाइएको कृत्रिम चेप्टी झरना र त्यसको आसपासमा लगाइएको विश्वका विभिन्न देशबाट ल्याइएका वनस्पति हेर्न र मनोरञ्जन लिन हाल दैनिक रूपमा तीन हजारभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेको ह्याप्पी ड्रिम्स चेप्टीका व्यवस्थापक नीतेश ओलीले बताउनुभयो।

एक वर्ष पहिलेसम्म पनि घरगाउँलेबाहेक मुस्किलले चाडपर्वमा मात्रै आफ्ना पाहुनाको मात्रै चहलपहल हुने यस क्षेत्रमा हाल दैनिक हजारौँको सङ्ख्यामा घुम्न आउने गरेको स्थानीयवासीको भनाइ छ। आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेसँगै आफ्नो व्यापार व्यवसाय बढेको स्थानीयवासीको भनाइ छ।

झापाको दोमुखा र धनुषकोटीधाममा समेत दैनिक सयौँ समूह पिकनिकका लागि आउने गरेको दोमुखा पर्यटकीय स्थलका उपाध्यक्ष धनकुमार ढकालले बताउनुभयो।