• १२ असोज २०८१, शनिबार

आगलागी हुँदा लाखौंको क्षति

blog

फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ६ गते । ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घरमा आलगाली हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । पापुङ सिम्बुकका स्थानीय ठुन्डुक शेर्पाको घर र मतानमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको क्षति भएको हो । 

मिक्वाखोला गाउँपालिका –५ पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार आगलागीबाट करिव ७२ लाख रुपियाँ बराबरको क्षति हुन गएको छ । प्रहरीचौकी पापुङबाट गएको प्रहरी टोलीले सङ्कलन गरेको क्षतिको विवरणअनुसार आगलागीबाट सो मूल्य बराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । 

घरमा कोही नभएको समयमा आगलागी भएकाले केही सुनचाँदीका गरगहना, बहुमूल्य पुरानो मुगाको माला, खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनसहित सबै सामग्री जलेर नष्ट भएको छ । बिहान खाना बनाउँदा भान्सा कोठामा बालेको आगो पूर्णरुपमा ननिभाएका कारण सोही आगोबाट घरमा आगलागी भएको हुनसक्ने प्रहरी तथा स्थानीयले अनुमान लगाएका छन् । आगलागी बिहीबार दिउँसो भएको हो ।

आगलागीबाट घर मतानसहित सम्पूर्ण सामग्री नष्ट भएपछि अग्निपीडित परिवार छिमेकीकहाँ शरण लिएर बस्दैआएका छन् । आगलागी भएकै दिन साँझ वडाको तर्फबाट केही खाद्यान्न, ओढ्ने ओछ्याउने कपडा लगायतका सामग्री पीडित परिवारलाई प्रदान गरिएको पनि वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।