• १३ साउन २०८१, आइतबार

कृष्णनगर भन्सारको राजस्व सङ्कलन न्यून

blog

कृष्णनगर भन्सार कार्यालय । तस्विरः गाेरखापत्र

नारद कोहार

तौलिहवा, माघ ६ गते । कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र कृष्ण नगर भन्सार कार्यालयले चालु आवको ६ महिनामा लक्ष्यको आधाभन्दा कम राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७९-८० को ६ महिनाका लागि कुल तीन अर्ब ७५ करोड ४४ लाख उठाउने लक्ष्य रहे पनि एक अर्ब ७५ करोड २४ लाख मात्र राजस्व सङ्कलन भएको भन्सार अधिकृत ठाकुर गौतमले बताउनुभयो ।

सङ्कलित रकम लक्ष्यको ४९ दशमलव ३४ प्रतिशत मात्र हुन्छ । चालु आर्थिक वर्षका लागि भन्सारले सात अर्ब ६९ करोडको लक्ष्य लिइएको छ । गएको ६ महिनाभित्र कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व सङ्कलन भएको छैन । गत असारमा ५१ करोड ३४ लाख लक्ष्य रहे पनि ३४ करोड ४ लाख मात्र राजस्व सङ्कलन भएको छ । जुन लक्ष्यको केवल ५९ दशमलव ६३ प्रतिशत हुन्छ । भदौमा ६३ करोड ३२ लाख लक्ष्य रहेकोमा ४७ करोड ३ लाख उठेको छ । जुन लक्ष्यको ६८ दशमलव ७४प्रतिशत मात्र हुन्छ । असोजमा ६३ करोड ६२ लाख लक्ष्य मध्ये ३६ दशमलव २५ प्रतिशत अर्थात् २५ करोड ३१ लाख मात्र उठेको छ । 

त्यस्तै कतिकमा ६० करोड ९२ लाख लक्ष्यमध्ये ३६ दशमलव ५७ प्रतिशत अर्थात् २४ करोड २ लाख मात्र उठेको छ । मङ्सिरमा ६६ करोड २४ लाख लक्ष्य मध्ये ३७ दशमलव ४० प्रतिशत अर्थात् २६ करोड ७७ लाख उठेको छ । पुसमा ६९ करोड ९८ लाखमध्ये ४० दशमलव ६५ प्रतिशत अर्थात् २८ करोड ४४ लाख मात्र राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्तीमा लक्ष्यको ३६ देखि बढीमा ६८ प्रतिशत मात्र राजस्व उठेको देखिन्छ । सबैभन्दा बढी चामलमा भन्सार राजस्व उठेको अधिकृत गौतमले बताउनुभयो ।

कृष्ण नगर भन्सार नाकाबाट चामल फलफूल, खरानी, जिप्सम, आइरन इस्ट आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार अधिकृत तीर्थराज पासवानले बताउनुभयो । उहाँले भन्नुभयो “कोइला, जिरा, चामल र कनिका, खसीबोका, फलफूल, तरकारी, कपडा, जुत्ता चप्पल र औद्योगिक मेसिनरीका पार्टपुर्जा आयातबाट पनि राजस्व सङ्कलन हुने गरेको छ ।” 

आर्थिक वर्ष २०७८-०७९ मा तोकिएको लक्ष्यको ९३ दशमलव ४६ प्रतिशत मात्र राजस्व उठेको थियो । भन्सारमा गत आर्थिक वर्ष ५ अरब ४३ करोड ४४ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो । विगतको तुलनामा आर्थिक गतिविधिमा कमी भएकाले त्यसको असर भन्सार असुलीमा पनि परेको भन्सार प्रमुख गगन विश्वकर्माले बताउनुभयो । दुई वर्ष अघिको कोरोनाको असर अहिले देखिएकोले यस्तो अवस्था आएको उहाँले बताउनुभयो । ‘आर्थिक मन्दीले गर्दा व्यापारीहरूले विगतको तुलनामा कम मात्र सामान आयात गरेका छन्’ उहाँले भन्नुभयो । कृष्णनगर मात्र होइन देशका कुनै पनि भन्सार नाकामा चालु आर्थिक वर्षमा लक्ष्य अनुसार भन्सार राजस्व नउठेको उहाँको भनाइ छ ।