नयाँ सरकारसित जनताका नयाँ अपेक्षा छन् । अहिले नेपाल र नेपालीको यही मर्म बुझेर नै हुनुपर्छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रम भएयता सरकार मालिक होइन जनताको सेवक हो, म कम बोल्छु, काम धेरै गर्छु, म यस पटक नेपालीको जीवनस्तर उकास्न परिणाममुखी काम गर्छु आदि सकारात्मक अभिव्यक्ति सुरुदेखि नै दिइरहनु भएको छ । सरकारको मुली नै प्रम हुने भएकाले संविधानअनुसार बन्ने मन्त्रिपरिषद्ले पनि यही मर्म, भावनाअनुसार आफ्नो कार्यकालमा काम गर्नेछ भन्ने अपेक्षा गर्नुपर्ने हुन्छ । यो अपेक्षा किन गर्न सकिन्छ भने दाहाल तेस्रो पटक प्रधानमन्त्री हुनुभएको छ । यस पटक उहाँलाई विगतको कमीकमजोरी सुधार्ने अवसर मिलेको छ । यसअघिको समय सिकाइमै गयो । हन्डर ठक्कर र तितामिठा अनुभव भरपुर भएकै छन् । यो अवस्थामा आफ्नो जीवनकालकै इतिहास कायम गर्ने गरी असल र राम्रा काम गर्नुको विकल्प छँदै छैन । यो बेलैमा यो कुरा उहाँले मनन् गर्नुभएको छ यसलाई शुभ लक्षण मान्न सकिन्छ । यद्यपि परिणाममुखी काम भने हेर्न बाँकी नै छ ।
३० वर्षे निरङ्कुश पञ्चायती शासनलाई ढालेर २०४६ सालमा प्रजातन्त्र ल्याएदेखि नै आफ्नै शासन व्यवस्था भनेर नेपाली जनताले गौरव गरेकै हुन् । सोपछि २०६२/६३ को आन्दोलनबाट ल्याइएको वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि झन् नेपाली जनताले आफैँले आफूलाई शासन गर्ने आफ्नै व्यवस्था ठान्नु स्वाभाविक नै हो । तर जनताले सोचेअनुसार राजनीतिक वातावरणअघि बढ्न सकेन । यतिबेला जनता निराश छन् । जनताका अपेक्षा निराशामा परिणत भएका छन् । विकासको गति धीमा छ । सुशासनले मुलुक चल्नुपर्नेमा त्यसको अनुभूति हुन सकेको छैन । बेरोजगारीका कारण अवस्था निराशाजनक छ । यसतर्फ सरकारको ध्यान गएको पाइँदैन । बरु उल्टै रेमिटेन्सको भरमा रमाएको पाइएको छ । चौतर्फी बिचौलिया र माफियाको चकाचक अझै हट्न सकेको छैन । सरकारका सबै तह, तप्कामा मात्र होइन न्याय कानुनका क्षेत्रमा समेत बिचौलियाको प्रभाव हुने अवस्था देखिन्छ । यसो भएकाले सर्वसाधारणलाई न्याय पाउन मुस्किल र महँगो भइसकेको छ । यो अवस्था भनेको निश्चित रूपमा गम्भीर हो । वर्तमान सरकारलाई बिचौलियाको कडी नतोडी नहुने अवस्था आएको छ । तत्कालै मुलुकमा रहेको यो दलदल तोडेर नेपाली जनताले महसुस गर्ने गरी परिणाम ल्याउने काम गर्न नसक्ने
हो भने यो सरकार पनि पहिलेका सरकारहरू जस्तै हुनेछ । अहिले मौका जुरेको छ । प्रम दाहाल यस पटक फरक रूपमा
प्रस्तुत हुनुपर्नेछ ।
उपप्रधानमन्त्रीमा रवि लामिछाने आकाशै झार्न खोज्ने महत्वाकाङ्क्षी युवा हुनुहुन्छ । आफ्नै भविष्यका लागि भए पनि उहाँले राम्रो काम नगर्ने कुरै भएन । अरू उपप्रधानमन्त्री पनि खारिएका छन् । उहाँहरूले पनि राम्रो काम गर्नुको विकल्प छैन । प्रम र उपप्रमले राम्रो गरेपछि बाँकी मन्त्रीले राम्रो गर्न बाध्य हुनैपर्छ । त्यसमा पनि संसद्मा आउनुभएका नयाँ अनुहारको पनि राम्रै गर्ने आवाज आइरहेको छ । यस्तो अवस्थामा संसद्मा २६८ जना सांसद्को दाहाल सरकारलाई समर्थन छ । यो अवसर पनि हो सरकारका लागि । यही भएकाले नै प्रम दाहालले यो सरकारलाई साझा सरकार भएकोले यो पटक राम्रो काम गर्छु, नराम्रो काम गर्न कसैलाई गर्न दिन्न भनेर सुरुमै भनिरहनु भएको छ । यसअघिका सरकारले गरेका कामले नेपाली जनता आजित र निराश भइसकेकाले अब यो सरकारलाई राम्रो गर्नुको विकल्प छैन । अझै राम्रो नगर्ने हो भने नकारात्मक परिणामको दोष यही सरकारको टाउकोमा थोपरिने भएकोले वर्तमान राज्य प्रणालीलाई बचाएर अघि बढाउने दायित्व यही सरकारको काँधमा आएको छ । यसरी राष्ट्रको स्वाभिमान बचाएर नेपालको भूमि र अस्तित्व रक्षाका लागि सबै मित्र मुलुकसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने जिम्मेवारी यो सरकारमा छ ।
नेपाली राजनीतिमा हुने गरेका चाहिने नचाहिने हल्ला, चर्चा र आरोप, प्रत्यारोपलाई वास्तै नगरी नेपाल र नेपालीको हितलाई लक्ष्मणरेखा बनाएर काम गर्ने हो भने अहिले राजनीतिक वृत्तमा चलेका चर्चा आफैँ हराएर जानेछन् । आफू निस्वार्थ र निर्भीक भएर काम गर्ने हो भने अहिले नेपालमा भइरहेका विकृति हटाउन सम्भव हुन्छ । यसको लागि आफू कतै चुक्नुहुन्न र निस्वार्थ र दृढतापूर्वक गर्नुपर्ने काम गरेर अघि बढ्न सक्नुपर्छ । यसो गरेमा भ्रष्टाचार नियन्त्रण हुन्छ, हुन्छ, बिचौलियाहरू स्वतः कम हुन्छन् । यसका लागि भ्रष्टाचारीलाई कारबाही गर्न सक्नुपर्छ । यो र त्यो नभनी जो होस् भ्रष्टाचारीलाई कुनै छुट दिनु हुँदैन । यती भयो भने मुलुकको अहिलेको जल्दोबल्दो समस्या समाधान हुन्छ । यो भनेको आधा समस्या समाधान हुनु हो । अब बाँकी समस्या भनेको स्वदेशमै रोजगारी दिनु हो । यसका लागि रोजगारीका सम्भावना पहिचान गर्न आवश्यक छ । यो पनि गाह्रो भए पनि असम्भव पक्कै छैन । यो समस्या समाधानका लागि सर्वप्रथम कृषिलाई केन्द्रबिन्दु बनाएर काम अघि बढाउना साथ आधा समस्या समाधान हुन्छ । बाँकी रहेको रोजगारीको समस्या समाधान गर्न अहिले पुँजीको अभावले ठूला उद्योग सम्भव नभए पनि घरेलु उद्योगको सम्भावना छ । निजी क्षेत्रलाई कर र दर्तामा विशेष सुविधा दिने हो भने नेपालमा प्रशस्त उद्योग खोलेर घरघर, गाउँगाउँमा रोजगारी सिर्जना गर्न सकिन्छ । भ्रष्टाचार र बिचौलिया नियन्त्रण, बेरोजगारलाई रोजगारी हुनासाथ नेपालीहरू क्रमशः सीपयुतm र आत्मनिर्भर हुनेछन् । ढिलासुस्ती र बेथिति पनि भ्रष्टाचारसँगै जोडिएकोले भ्रष्टाचारसँगै ढिलासुस्तीका साथै ठाउँठाउँमा सेवाग्राहीका लामा, लामा लाइन पनि हटेर जानेछ । यति हुन सके सरकारको जय, जयकार जताततै हुनेछ । यसका लागि नेतृत्वमा सकारात्मक सोच, काम गर्ने शैली शुद्ध र निस्वार्थ हुन जरुरी छ ।
यसअघि नेताहरूको कमी कमजोरीकै कारण कर्मचारीले गरेको गल्तीको दोष पनि नेताहरूले नै बोक्नु परेको थियो । त्यसैले नेता र समग्रमा राज्यको नेतृत्व दूधले धोएझैँ चोखो हुने हो भने अहिले सबैलाई पिरोलेको समस्या क्रमशः हटेर जानेछन् । विद्धान् र अनुभवीको भनाइमा यो संसारमा गरे सबै सम्भव छ । गर्नेका लागि के सम्भव हुँदैन र ? सम्भव हुने भएकाले नै थोरै समयमा
सिङ्गापुर र मलेसियालाई त्यहाँका तत्कालीन नेताले विकसित देशको दर्जामा उठाए । नेपालमा यसो गर्ने राजनेताको अभाव महसुस गरिएकै हो । त्यसैले हामी अहिले पुर्पुरोमा हात लगाउन बाध्य छौँ । यो अवस्थाको अन्त्य गर्ने जिम्मेवारी वर्तमान सरकारको काँधमा आएको छ । प्रचण्ड सरकारले प्रचण्ड बहुमत पाएको यो सुनौलो अवसरमा राम्रो काम गर्नुको विकल्प छँदै छैन । यसको भरपुर उपयोग गरेर नेपाल, नेपाली र आफ्नोसमेत इतिहास लेख्ने सुवर्ण अवसरबाट नचुकौँ ।