• १२ असोज २०८१, शनिबार

तरुल उत्पादनमा कमी हुँदा मूल्य महँगियाे

blog

फुङ्लिङ बजारमा लाग्ने शनिबारे हाटमा तरुल खरिद बिक्री गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङमा तरुल उत्पादन कमी हुँदा मूल्य आकाशिएको छ । तरुल खपत हुने मुख्य मौसम अर्थात तरुलको पर्वका रुपमा समेत लिइने गरिएको मकरसङ्क्रान्तिको समयमा तरुलको मूल्य आकाशिएको हो । 

स्थानीय व्यापारी तथा तरुल उत्पादक किसानले मकर सङ्क्रान्तिको समयमा आफूखुसी तरुलजन्य वस्तुको मूल्य बढाएका हुन् । पुस महिना यता तरुल बजारमा निस्कन थालेको हो । तरुल निस्कन थाल्दाको मूल्यभन्दा मकर सङ्क्रान्तिमा दोब्बरले मूल्य वृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । 

सदरमुकाम फुङ्लिङ बजारका तरकारी तथा फलपूmल पसल र यहाँ लाग्ने हाटमा तरुलजन्य वस्तुको मूल्य वृद्धि गरिएको उपभोक्ताले बताएका छन् । 

मकर सङ्क्रान्तिको एकदिन अघि फुङ्लिङमा लागेको शनिबारे हाटमा महङ्गो मूल्यमा तरुलको कारोबार भएको उपभोक्ताको भनाइ छ । उपभोक्ताका अनुसार शनिबारको हाटबजारमा प्रति किलाेग्राम ८० रुपियाँदेखि दुईसय रुपियाँसम्ममा तरुल खरिदबिक्री भएको छ ।

यसअघि प्रतिकिलोग्राम ४० देखि ५० रुपियाँ पर्ने तरुलको मूल्य ८० देखि एक सय रुपियाँसम्ममा खरिद बिक्री भएको छ । त्यस्तै केही राम्रोखालको तरुल दुई सय रुपियाँसम्ममा खरिद गर्नुपरेको फुङ्लिङ नगरपालिक ा–५ स्थानीय उपभोक्ता विक्रम लिम्बूले बताउनुभयो । विगतको तुलनामा यसवर्ष तरुलको मूल्य अत्यधिक महँगिएकाे लिम्बूको भनाइ छ । 

हाट बजारमा बिक्री गर्न राखिएको घर तरुल, पताले तरुल, सिमले, स्कूसलगायत सबैखाले तरुल ब्यापारीले महँगाे मूल्यमा बिक्री गरेका लिम्बूले बताउनुभयो । हाटमा वन तरुल प्रतिकिलोग्राम दुईदेखि दुई सय ५० रुपियाँसम्ममा बिक्री छन् । यसवर्ष मकर सङ्क्रान्तिमा तरुलको मूल्यको मूल्य अत्यधिक महँगाे भएको उपभोक्ताले बताएका छन् । 

यता फुङ्लिङका स्थानीय व्यापारीले भने आफूहरुले तरुल खरिद गर्दा नै महँगाेमा खरिद गर्नुपरेकाले सोहीअनुसार सीमित नाफा राख्दा मूल्य कही महँगाे पर्न गएको बताउँछन् । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरुल महँगाे मूल्य लगाएर खरिद गरी बिक्री गर्दैआएको र यसको व्यापारबाट खासै नाफा नहुने स्थानीय व्यापारीको भनाइ छ । 

हाटबजारमा तरुल बिक्री गर्न आएका किसान तथा ब्यापारीले सोचेजस्तो तरुल नै उत्पादन हुन छोडेको बताउँछन् । परिश्रम गरेअनुसार उत्पादन नभएपछि तरुलजन्य वस्तु महँगाे  मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरुको भनाइ छ । उत्पादन नभएपछि उपभोक्ताको मागअनुसार तरुल उपलब्ध गर्नसक्ने स्थिति नरहेको पनि ब्यापारीले बताएका छन् ।