• ८ असार २०८१, शनिबार

जनताको सेवक भएर काम गर्छु : मुख्यमन्त्री रावल

blog

मुख्यमन्त्रीको पद्भार ग्रहणपछि आफ्नो धारणा राख्नुहुँदै मुख्यमन्त्री राजेन्द्रसिंह रावल । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूसहित मन्त्रीहरूले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले त्याग, सेवाको भावनालाई लिएर प्रदेशवासीको माझमा रहने बताउनुभयो ।  

सुदूरपश्चिम प्रदेश सरकार मातहतका सबै मन्त्रालय, आयोग, सचिवालय, निकाय र मातहतका कार्यालयहरूको कार्य सम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामूलक काम योजना तयार गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने निर्णय गर्नुभएको छ । त्यसका लागि प्रदेश सरकारका प्रमुख सचिवको संयोजकत्वमा सबै मन्त्रालयहरूको प्रदेश सचिव तथा सदस्य रहनेगरी सुदूरपश्चिम प्रदेशको समग्र शासकीयस्वरुप सुधार गर्ने योजना तर्जुमा कार्यदल गठन गर्न निर्देशन दिनुभयो ।  

यसैगरी, नवगठित प्रदेश सरकारको मन्त्रिपरिषद्ले स्थानीय तहको सेवा गठन, सञ्चालन, सेवा सर्त निर्धारण गर्ने कानुन तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने पहिलो निर्णय गरेको छ । यस्तै, प्रदेश सुशासन प्रवर्धन गर्न प्रादेशिक सदाचार नीति र मापदण्ड तर्जुमा गर्ने र त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव (कानुन) को संयोजकत्वमा एक कार्यदल गठन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको हो ।

यस्तै, प्रदेशबाट प्रवाह भइरहेका सेवालाई जनमुखी, झन्झटरहित र गुणस्तरीय तुल्याउन तत्काल गर्नुपर्ने सुधारका काम पहिचान गरी कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । प्रदेश सरकारको तर्फबाट आम नागरिकलाई प्रदान गर्न सकिने विद्युत सेवा, महसुललगायतका सेवा प्रदान गरिने सम्बन्धमा अध्ययन गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।