• १२ असोज २०८१, शनिबार

अक्षयकोष स्थापना गर्न रकम सहयोग

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २८ गते । ताप्लेजुङमा एक संस्थाले विद्यालय र स्वास्थ्य संस्थामा अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेको छ । जिल्लाका चार वटा स्वास्थ्य संस्था र प्रत्येक स्थानीय तहका एक–एक वटा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नका लागि संस्थाले सम्बन्धित विद्यालय तथा संस्थालाई रकम हस्तान्तरण गरेको हो । 

सदरमुकाम फुङ्लिङमा बिहीबार एक कार्यक्रमको आयोजना गरी सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनस्थित हरि जीव सत्य धर्म नामक धार्मिक संस्थाले अक्षयकोषको रकम हस्तान्तरण गरेको हो । संस्थाले प्रत्येक विद्यालय र स्वास्थ्य संस्थालाई अक्षयकोष पुनर्स्थापना १८ हजार रुपियाँका दरले रकम हस्तान्तरण गरेको छ । ताप्लेजुङबाहेक झापाका तीन वटा विद्यालयलाई पनि अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको संस्थाले जनाएको छ । 

अक्षयकोष स्थापना गर्नका लागि फुङ्लिङ नगरपालिकाको भानुजन माध्यमिक विद्यालय र वीरेन्द्र माध्यमिक विद्यालयलाई रकम हस्तान्तरण गरिएको छ । यस्तै आठराई त्रिवेणी गाउँपालिका–३ को सरस्वती माध्यमिक विद्यालय, मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकाको भन्ज्याङ माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकाको सूर्यदेवी माध्यमिक विद्यालयलाई रकम हस्तान्तरण भएको छ ।

त्यस्तै, मिक्वाखोला गाउँपालिकाको साँवा माध्यमिक विद्यालय, फक्ताङ्लुङ गाउँपालिका –५ को सरस्वती माध्यमिक विद्यालय, पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु माध्यमिक विद्यालय र सिरिजङ्घा गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयलाई रकम हस्तान्तरण गरिएको छ । यसैगरी झापाको कञ्चनबारी माध्यमिक विद्यालय बिर्तामोड, पथरी माध्यमिक विद्यालय कचनकवल र शनिश्चरे माध्यमिक विद्यालय शनिअर्जुनलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य संस्थाअन्तर्गत सिरिजङ्घा गाउँपालिकाको तेल्लोक अस्पताल, आम्बेगुदिन स्वास्थ्यचौकी, सिनाम स्वास्थ्यचौकी र सिकैँचा स्वास्थ्यचौकीलाई अक्षयकोष पुनर्स्थापना रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तेजबहादुर भट्टराईले बताउनुभयो । 

अक्षयकोषको रकम थोरै भए पनि कोषबाट सम्बन्धित विद्यालयमा अध्ययनरत गरिब, दुःखी, असहाय, साथै जेहेन्दार तथा लगनशील विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा संस्थाले राखेको छ । त्यस्तै, उपचार तथा प्रसूति सेवा लिन पुगेका दीन दुःखी साथै असहाय परिवारका नवजात शिशु र आमालाई सहयोग गर्न स्वास्थ्य संस्थामा अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेको संस्थाले जनाएको छ । 

अक्षयकोषको रकम जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई लगायतको उपस्थितिमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ । संस्थाले यसअघि सिरिजङ्घा गाउँपालिकाका प्रत्येक वडाका एक–एक वटा विद्यालयमा अक्षयकोष स्थापना गरेको जनाएको छ ।