हमेशा पतझर आएको छ बहार आएको छैन
मलाई जिन्दगीले जति कसैले दुखाएको छैन ।
मलाईभन्दा धेरै मेरी बूढी आमालाई दुख्छ भनेर
मेसिनमा हात काटिएको खबर सुनाएको छैन ।
ज्यानभन्दा पनि स्वाभिमान ठूलो लाग्दो रहेछ
हावा र पानी खाएको छु तर हात फैलाएको छैन ।
एक पटक चिताबाट उठेर घर फर्किएको मान्छे हुँ
मृत्युको कालो अनुहार सम्झेर डराएको छैन ।
दुःखमा पनि चल्दो रहेछ जिन्दगी, चलाएकै छु
यहाँ चाहेका सबै कुरा कसैले पनि पाएको छैन ।