केही समयअघि मात्रै मङ्सिर महिनामै काफल पाकेको समाचार सार्वजनिक भयो । मङ्सिर महिनामै हिमपातका खबर पनि बाहिरियो । हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेको, हिमताल फैलँदै गएका, हिमाल पग्लँदै गएका तस्बिर त धेरै पहिलेदेखि नै आइरहेका छन् । यति मात्र हैन, मौसमअनुसारको जङ्गली फलफूलको चक्र बदलिएको छ, कृषि उत्पादनमा पनि असर भइरहेको छ । यी सबैका कारण जलवायु परिवर्तनको प्रभाव हो ।
माथिका केही सामान्य उदाहरण मात्र हुन्, तराईदेखि हिमालसम्मको वातावरणीय र मनसुनी चक्र बदलिएको छ र यसले मानिसको जीवनलाई असहज बनाउँदै गएको छ । विश्वमा भइरहेको जलवायु परिवर्तनका कारण अति समस्यामा पर्ने मुलुकमध्येमा पर्ने नेपालमा यसको प्रभाव र असरको रोकथाम वा न्यूनीकरणका लागि चाल्नुपर्ने कदमका बारेमा कागजी योजनाबाहेक व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइएको पाइँदैन ।
जलवायु परिवर्तनबाट मानिस, पशुपन्छी, बोटबिरुवा सबै प्रभावित भइरहेको अवस्थामा यसको न्यूनीकरणका लागि विद्यालयको भूमिका अत्यधिक महìवपूर्ण हुनेमा कसैको विमति छैन तर सरकारले यस विषयमा खासै चासो दिएको छैन भने विद्यालयले पनि आफ्ना विद्यार्थीलाई यतातिर अग्रसर गराएको छैन । यति हुँदाहुँदै पनि कतिपय विद्यालयले भने आफ्ना विद्यालयमा ‘ग्रिन आर्मी’ गठन गरेर वातावरण संरक्षण, विपत्मा उद्धारलगायतका काम गरिरहेका छन् ।
विद्यालय तहबाटै वातावरणका विषयमा गहन अध्ययन र अभ्यास गराउने हो भने यसको प्रत्यक्ष प्रभाव समाजमा छिट्टै पर्नेछ । जलवायु परिवर्तनका असर कम गर्न र प्राकृतिक विपत्बाट बच्न चाल्नुपर्ने कदमका बारेमा विद्यालय तहका बालबालिकालाई शिक्षित र अभ्यस्त तुल्याउँदै जाँदा यसले भविष्यमा वातावरण संरक्षणका क्षेत्रमा ठूलो फड्को मार्नेछ । किनभने हरेक मानिसका लागि विद्यालय शिक्षा उसको जीवनको अन्तिम क्षणसम्म प्रभावकारी रहन्छ । विद्यालयमा सिकेका कुरा, पाइएको ज्ञान र सीप नै जीवनमा अघि बढ्ने सशक्त मार्गका रूपमा रहेको हुन्छ । त्यसैले विद्यालय शिक्षालाई अति महìवपूर्ण मानिन्छ ।
विद्यालयमा दिइने शिक्षा भनेको केवल पाठ्यपुस्तकका अध्यापन मात्र नभएर जीवनोपयोगी अनि देश–दुनियाँमा भइरहेका अभ्यासको सिकाइले मानिसलाई परिपक्व र सहृदयी बनाउन पनि मद्दत गर्दछ । तसर्थ पनि जलवायु परिवर्तनको विषयमा अध्यापन र अभ्यास दुवै गराउन सरकारले स्पष्ट नीति र कार्यक्रम नै ल्याउनु आवश्यक भइसकेको छ । हुन त केही वर्षयता विद्यालयमा ‘ग्रिन आर्मी’ (हरित सेना) गठन हुन थालेका छन् । मूलतः विपत्का समयमा उद्धार तथा वातावरण संरक्षणलगायतका काममा सक्रिय हुने ‘ग्रिन आर्मी’का माध्यमबाट विद्यालयले त सुरक्षित महसुस गरेकै छ, समुदायले पनि यसको लाभ उठाइरहेको छ ।
पश्चिमालगायत एसियाका कतिपय देशमा निकै पहिलेदेखि विद्यालयमा ‘ग्रिन आर्मी’ स्थापना भए पनि नेपालमा यो अवधारणा नयाँ नै मानिएको छ । कोरोना महामारीका बेला र खोप अभियानका क्रममा ‘ग्रिन आर्मी’ परिचालन गरिएको थियो । अहिले वृक्षरोपण, वातावरण संरक्षणका कार्य तथा विभिन्न धार्मिक–सांस्कृतिक पर्वमा स्वयंसेवीको भूमिकामा ‘ग्रिन आर्मी’ परिचालन भएको छ । समुदायको जिम्मेवारीमा समुदायकै लागि सञ्चालित सामुदायिक विद्यालयले ‘ग्रिन आर्मी’ गठन गरेर समाजमा घुलमिल गराइरहेको छ ।
यो एउटा पाटो हो । ‘ग्रिन आर्मी’लाई स्वयंसेवी दस्ताका रूपमा विद्यालयले उपयोगमा ल्याउनु सकारात्मक हुँदाहुँदै पनि सम्पूर्ण विद्यार्थीलाई जलवायु परिवर्तनका विषयमा अनिवार्य शिक्षाको अवधारणा ल्याउनु अत्यावश्यक भइसकेको छ । विद्यार्थीले पढेका कुरालाई व्यवहारमा उतार्न ‘ग्रिन आर्मी’ महìवपूर्ण साझेदार भने हुन सक्छन् ।
विद्यालय भनेको विद्या अर्थात् ज्ञान–शिक्षा–सीप दिने घर हो । ‘विद्या आलय’ अर्थात् विद्याको घर नै विद्यालय भएकाले हरेक नागरिकलाई उसको इच्छा, क्षमता र चाहनाअनुसारको ज्ञान, सीप सिकाउने कर्तव्य पनि विद्यालयकै हुन्छ र विद्यालयको ज्ञानबाटै मानिसले जीवनमा सकारात्मक कर्म गर्न सक्षम हुन्छ । आज पनि उच्च ओहदामा पुगेका वा कुनै पनि क्षेत्रमा सफल मानिएका व्यक्तिले यसको श्रेय विद्यालयलाई नै दिन्छन् । विद्यालयकै स्मरण गर्छन् । विद्यालयका आफ्ना साथीको चर्चा गर्छन् ।
तसर्थ विद्यालयमा दिइने यस्ता अतिरिक्त ज्ञान वा जिम्मेवारीले विद्यार्थीमा समाजप्रति सचेत र उत्तरदायी बन्ने प्रेरणा दिन्छ भने उनीहरूमा नेतृत्व क्षमताको पनि विकास हुन्छ । अनि आधारभूत रूपमा सेनाले तालिम दिने भएकाले भविष्यमा उनीहरूलाई रोजगारीको अलग्गै अवसरका रूपमा पनि यसलाई लिन सकिन्छ ।
वातावरण संरक्षण विश्वकै समस्या बनिरहेका बेला विद्यालयमा पश्चिमा शैलीका वातावरण शिक्षा पढाएर नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्याको सामना गर्न सकिँदैन । जसरी विद्यालयले ‘ग्रिन आर्मी’ गठनको सुरुवात गरेका छन्, अब मुलुकमा वातावरण संरक्षणका हाम्रा मौलिक परम्परा र शास्त्रीय अभ्यास पुनस्र्थापित गर्नुपर्दछ । नेपालको मौलिक पहिचान भनेको यहाँको शुद्ध वातावरण नै हो । स्वच्छ जल, शुद्ध वायु, लहलह अन्न फल्ने तराईका समथर मैदान, हरियाली डाँडापाखा र सेताम्मे मनोरम हिमाल नै नेपालको सम्पत्ति हो ।
धार्मिक–सांस्कृतिक मान्यताले पनि यी वस्तुको संरक्षण गर्नुपर्ने शिक्षा प्रदान गर्दै निरन्तर अभ्यास भइरहेका छन् । वातावरण दूषित पार्नु हुँदैन, यसले मानवलाई नै हानि पु¥याउँछ भनेर अनेक वैदिक मन्त्र रचना गरियो । बम र गोला बारुदको साटो स्वस्ती वाचन र शङ्ख तथा घण्टका मधुर ध्वनिले वातावरण शुद्ध पार्नुपर्छ भन्ने मान्यता अघि सारियो । वायुमण्डलमा सुगन्धित चरु उत्सर्जन गर्ने विधि बसाइयो ।
वैदिक सनातन धर्म–संस्कृति र सामाजिक अभ्यासमा वातावरणलाई उच्च प्राथमिकता दिइएको छ । वेदमा ॐ द्यौः शान्ति रन्तरिक्षं शान्तिः, पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः, सर्वं शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि ।। ॐ शान्तिः शान्तिः शान्तिः ।। भनेर शान्तिमन्त्र लिपिबद्ध गरिएको छ ।
यसको अर्थ हुन्छ– द्युलोक (स्वर्ग)मा शान्ति होस्, अन्तरिक्षमा शान्ति होस्, पृथ्वीमा शान्ति होस्, पानीमा शान्ति होस्, औषधि (जडीबुटी)मा शान्ति होस्, वनस्पतिमा शान्ति होस्, विश्वमा शान्ति होस्, सबै देव–देवीमा शान्ति होस्, ब्रह्ममा शान्ति होस्, सबैमा शान्ति होस्, चारै दिशामा शान्ति नै शान्ति होस् ।
यस्तो मन्त्रको अभ्यास गर्ने हामी नेपालीले यसलाई दैनिक रूपमा प्रयोगमा पनि ल्याइरहेका छौँ । पानीमा जलदेवी, वनमा वनदेवी, पीपल–तुलसीमा भगवान् विष्णुको अंश मानेर पूजा गर्ने, गाई, गोरु, कुकुर, सर्पलगायत पृथ्वीको सृष्टि संरचनालाई बचाइराख्ने र सन्तुलित बनाइराख्ने महìवपूर्ण पक्षको संरक्षणका लागि दैनिक पूजा विधि नै स्थापित गरियो । यसैकारण केही दशक अघिसम्म नेपालमा वातावरणीय प्रदूषणको जोखिम थिएन । समय बदलियो, व्यवस्था बदलियो अनि सँगसँगै सनातनी अभ्यास पनि बदलिँदै गयो । नेपालको मौलिक पहिचान ध्वस्त गर्ने अभियान चल्यो । आज वातावरण संरक्षणका लागि विदेशीसँग अनुदान लिनुपर्ने अवस्था आयो ।
हामीले बिर्सन नहुने कुरा के हो भने आज हाम्रो परम्परागत अभ्यासका रूपमा रहेका यज्ञ आज विश्वका धनी मुलुकले पनि सिको गर्दै प्रत्येक मानिसलाई केही समय मात्र भए पनि यज्ञ गर्न आह्वान गर्न थालेका छन् । कतिपय अरबी मुलुकमा रुखअगाडि पुगेर स्वचालित यज्ञयन्त्रमा चरु होमेर यज्ञ गर्ने चलन बसालिएकोसमेत सुन्नमा आएको छ तर यज्ञ–यज्ञादिको उद्गमस्थल मानिएको नेपालमा यसलाई ‘बाहुनको ठगी खाने पेसा’का रूपमा दुत्कारिएको छ ।
अब प्रत्येक गाउँमा यज्ञस्थल निर्माण गर्ने र वातावरणलाई सुगन्धित पार्ने हवन आदि कार्य गर्ने अभियान नै चलाइनुपर्दछ । विद्यालय तहबाटै जलवायु वा वातावरण संरक्षणका नयाँ र सनातन अभ्यासलाई सशक्त रूपमा अघि बढाउनुपर्दछ । वातावरण संरक्षणका विषयमा हाम्रा मौलिक शिक्षा, अभ्यास र मान्यताको शिक्षा दिँदै र अभ्यास गराउँदै विद्यार्थीलाई चेतनाको संवाहक बनाएर अघि सार्नुपर्दछ । यति गर्न सकियो भने गाउँघर र डाँडाडाँडामा विकासको नाममा भइरहेको विनाश रोक्न सकिन्छ । व्यक्तिको निहित स्वार्थका लागि भइरहेका यस्ता कुकृत्य रोक्न विद्यालय र विद्यार्थीको भूमिका निकै प्रभावकारी हुनेछ ।
संस्कृति, परम्परा र मौलिकतालाई रूढिवादी पद्धति भनेर कथित क्रान्तिकारी बन्ने होडबाजीमा लाग्दा कोही कहीँ पुग्न सक्दैनन् । कालान्तरमा ऊ आफ्नै धरातलमा फर्कनुको विकल्प छैन । विश्व जलवायु परिवर्तनमा कुनै भूमिका निर्वाह नगरेको तर वातावरण स्वच्छ राख्न र जोगाउन परम्परागत अभ्यास भइरहेको नेपालमा क्रान्ति यसरी बज्यो कि मानिसले आफ्नो नित्य कर्म नै छाडिदिए, यसको अपव्याख्या गरियो तर अब समय बदलिएको छ कि हामीले विश्वको वातावरण सन्तुलन र संरक्षणका लागि विगतदेखि अभ्यास गर्दै आएका वैदिक विधिलाई पुनस्र्थापित गर्नुपर्दछ । यसका लागि संस्कृत विद्यालयले मात्र हैन, सामुदायिक–निजी सबै विद्यालयले अग्रसरता लिनुपर्दछ ।
आधुनिक पुुस्ताले पुराना कुरालाई आत्मसात् गर्न थालेको छ । वातावरण संरक्षणमा उनीहरूको चासो बढेको छ, संस्कृति र सम्पदा रक्षामा पनि उनीहरू अग्रसर हुन थालेका छन् । वातावरण प्रदूषणकै कारण हामीले अनेक समस्या भोगिरहेको उनीहरू जानकार छन् । त्यसैले यसका लागि आफ्नै किसिमबाट अभियान चलाइरहेका छन् तर यो नै पर्याप्त होइन । हामीले हाम्रो वातावरण, जैविक विविधताको रक्षा गर्दै यसलाई मुलुकको समृद्ध भविष्यको धरोहरका रूपमा पुनस्र्थापित गर्नैपर्छ ।