• ११ असार २०८१, मङ्गलबार

प्रधानमन्त्रीको पहल

राहदानी छपाइ समस्या : दुई दिनमै समाधान हुने विभागको दाबी

blog

राहदानी लिन लाइनमा बसेका सर्वसाधारण । फाइल तस्बिर

काठमाडौं, पुस २१ गते। राहदानी छपाइमा देखिएको समस्या समाधानतर्फ गएको राहदानी विभागले जनाएको छ। विभागका प्रवक्ता दुरपदा सापकोटाले पुस १७ गतेदेखि आएको प्राविधिक समस्या समाधानको दिशामा गइसकेको बताउनु भएको छ। प्राविधिक कारण राहदानी छपाइमा देखिएको समस्या बिहीबार आंशिक समाधान भएको उहाँको भनाइ छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बुधबार प्रधानमन्त्री कार्यालको प्राविधिक टोलीले त्यहाँको समस्याबारे जानकारी लिएको थियो। यसलगत्तै सफ्टवेयर कम्पनीका प्राविधिकसँगसमेत प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले बिहीबार भिडियो कलमार्फत् कुराकानी गरेका छन्।

प्रधानमन्त्रीले चासो दिएको बताएपछि कम्पनीले भारत र मलेसियाबाट प्राविधिकलाई नेपाल पठाइसकेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएको छ। 

राहदानी विभागका प्रवक्ता सापकोटाले बाहिर मिडियामा आएजस्तो राहदानी वितरण नै रोकिएको भने नरहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘केही मिडियामा राहदानी वितरण नै रोकियो भन्ने खालका समाचार आएका छन्। तर हामीले दिने सेवा भने कुनै दिन रोकेका छैनौँ। पहिले बनिसकेका राहदानी भने वितरण गरिरहेकै छौँ। १७ गतेपछि दैनिक पाँच छ सयको हाराहारीमा मात्र राहदानी छापिएको छ।’

फारम स्वीकृत गरेर सेवाग्राहीको मोबाइलमा सूचना जाने सिस्टमले काम गर्न छाडेकाले मात्र समस्या आएको उहाँको भनाइ छ। अन्य कारणले राहदानी छपाइमा भने समस्या नरहेको उहाँले बताउनुभयो। ‘केही दिन पहिले देखिएको समस्या राहदानी छपाइमा भएको होइन। राहदानीका लागि लिइएका फारम स्वीकृत गर्ने सिस्टममा समस्या देखिको थियो। तर, बाहिर छपाइमै समस्या देखियो भन्ने प्रचार गएको छ,’ प्रवक्ता सापकोटाले भन्नुभयो। 

राहदानीका लागि फारम लिने, दस्तुर बुझाउने र फोटो खिच्ने काम भने कुनै दिन नरोकिएको प्रवक्ता सापकोटाको भनाइ छ। अब राहदानीको फारम स्वीकृत गर्ने प्रविधिमा देखिएको समस्या पूर्णरुपमा समाधान भएपछि कर्मचारीलाई बिहान र साँझ ढिलासम्म राखेर भए पनि सबै राहदानी छापिने सापकोटाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अबको एक दुई दिनमा राहदानीको फारम स्वीकृत गर्ने प्रविधिमा देखिएको समस्या पूर्णरुपमा समाधान हुन्छ। त्यसपछि कर्मचारीलाई बिहान र बेलुुका राखेर भए पनि राहदानी पूर्ण क्षमतामा छाप्छौँ।’ 

राहदानी विभागले दैनिक छ हजारको हाराहारीमा राहदानी छाप्दै आएको थियो। अहिले सिस्टममा समस्या आउँदा दैनिक पाँच–छ सयको हाराहारीमा मात्र राहदानी छापिएको थियो। राहदानीमा देखिएको समस्या समाधानका लागि फ्रेन्च कम्पनी आइडिमियाको टोलीले हेहिरहेको र केही दिनमै समस्या समाधान हुने उहाँको भनाइ छ।

‘फ्रेन्च कम्पनी आइडिमियासँग विभागको राहदानी छपाइसम्बन्धी सम्झौता भएको छ। यसकारण कुनै समस्या आउने बित्तिकै हामीले कुनै प्राविधिक टोली ल्याएर निरीक्षण गराउन मिल्दैन। उहाँहरुले नै हेर्नुहुन्छ र नसकेको खण्डमा मात्र हामीले अन्य प्राविधिक टोलीलाई बोलाउनुपर्छ,’ प्रवक्ता सापकोटाले भन्नुभयो, ‘फ्रेन्च कम्पनीको प्राविधिक टोलीले समस्या पत्ता लगाइसकेको छ। अब चाँडै समाधान हुन्छ।’ 

 विभागमै समस्या भएको सेवाग्राहीको गुनासो 

सेवाग्राही अहिले देखिएको समस्याले मात्र सास्ती भएको मान्न तयार छैनन्। विभागलाई अहिले बाहाना मात्र मिलेको उनीहरुको भनाइ छ। विभागले फारम भरेर बायोमेट्रिक दिएपछि कम्तीमा एक साता नलगाई राहदानी वितरण नगर्ने उनीहरुको भनाइ छ। राहदानी विभागले फारम स्वीकृत भएको तीन दिनभित्र राहदानी उपलब्ध गराउनुपर्ने भए पनि यो प्रक्रिया भने कुनै हालतमा पुरा नगरेको गोरखाका दीपक कुमार सुनारको आरोप छ।

यो पनि पढ्नुहोस

उहाँले भन्नुभयो, ‘‘राहदानी विभागले फारम भरेको तीन दिन भित्र राहदानी वितरण गर्नुपर्ने हो। तर, एक हप्ता भयो, आउँदा कहिले के बिग्रियो कहिले के बिग्रियो भनेर पठाउनुहुन्छ। राहदानी नै पाउन सकिएको छैन।’ 

कर्मचारी खाजा खाने भन्दै डेढ घण्टा नै नआउने गरेका कारण लाइनमा उभिनुपरेको उहाँको गुनासो छ। ‘खाजा खाने समय अलि कम हुनुपर्ने। उहाँहरु खाजा खान गएपछि डेढ घण्टा आउनुहुन्न। हामी लाइनमै बस्दा साह्रै समस्या हुन्छ,’ उहाँले भन्नुभयो।

यो पनि पढ्नुहोस

यस्तै गुनासो दोलखाकी शान्ता कुँवरको छ। कुँवरले भन्नुभयो, ‘पुरानो राहदानी नवीकरण गर्न आउँदा सिस्टममा समस्या छ, अहिले हुँदैन। एक हप्तापछि आउनुस् भनेर पठाउनुभयो। मोबाइलमा सूचना आएपछि मात्र आउनुहोस् भन्नुभएको छ। खै कहिले आउँछ सूचना ?’ कुँवर अब १० दिनमा कतार उड्नुपर्ने तर राहादानीका कारण कतार उडान रोकिने हो कि भन्ने चिन्तामा हुनुहुन्छ। 


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।