• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्रीको पहल

राहदानीको समस्या समाधान गर्न सफ्टवेयर कम्पनीले पठायो विशेषज्ञ टोली

blog

राहदानी लिन लाइनमा बसेका सर्वसाधारण । फाइल तस्बिर

काठमाडौं, पुस २१ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आईडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले विशेषज्ञ पठाएको हो।

बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो। बुधबार भएको छलफल अनुसार, बिहीबार पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल गरेको हो।

प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम विज्ञ, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका जिम्मेवार कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक पक्षको अध्ययन गरेका थिए।

टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिक रुपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो। त्यसलगत्तै कम्पनीको मुख्य कार्यालयका प्राविधिकसँग प्रधानमन्त्री कार्यालयको टोलीले हाल देखिएको समस्याका बारेमा ‘भिडियो कल’मार्फत कुराकानी गरेको थियो। 

भिडियो कलमा भएको कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले कम्पनीको प्राविधिक समस्याका कारण सयौं नेपालीले समस्या झेल्नुपरेकोले सम्झौता अनुरुप कम्पनीले तत्काल नै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको थियो।



त्यसलगत्तै कम्पनीले आफ्ना दुई जना उच्चस्तरका प्राविधिकलाई बिहीबार नेपाल पठाएर समस्यालाई थप पहिचान गरी हल गर्न सहमति जनाएको टोली सदस्यले जनाए। सहमति अनुसार, भारत र मलेसियाबाट दुई जना प्राविधिक बिहीबार नेपाल आउने र शुक्रबार प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीसँग छलफल गरेर फेरि समस्या नआउने गरी समाधान खोजिने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले बिहीबार मन्त्रिपरिषद् बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्य सचिव, परराष्ट्र सचिव, राहदानी विभागका महानिर्देशकलगायतसँग समस्या तत्काल हल गर्न छलफल गर्नुभएको थियो। छलफलमा तत्काल देखिएको प्राविधिक समस्या हल गर्ने र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो छरितोरुपमा राहदानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले जोड दिनुभएको छ। 

सोही निर्देशनका आधारमा तत्कालको समस्या हल गर्न र भविष्यमा प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक छलफलका लागि बमोजिम प्राविधिक टोलीका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा परराष्ट्र सचिवलगायतको टोलीले समेत विभागको निरीक्षण गरेर विभागका पदाधिकारीसँग छलफल गरिसकेको छ।