• २० असोज २०८१, आइतबार

मर्मत भएन कर्णाली कोरिडोर

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस २० गते । गत असोजमा गएको पहिरोले क्षति पु-याएको कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने भिगौडा गौँडादेखि लालीबगरसम्मको सडक मर्मत हुन सकेको छैन। निर्माण सम्पन्न भएको सडकलाई पहिरोले क्षति पु-याएपछि त्यसको मर्मत कार्य अगाडि बढाउन म्याद थप कार्यमा हिल्सा–सिमकोट सडक आयोजनाले ढिलाइ गरेको कारण मर्मत हुन नसकेको हो।

खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष जयबहादुर शाहीले सडकको निर्माण पूरा भए पनि गत असोज १९ देखि २४ गतेसम्म वर्षासँगै गएको पहिरोले सडकको नामनिसाना नै नरहनेगरी क्षति पु-याएको जानकारी दिनुभयो। उहाँले सो खण्डको साढे दुई किलोमिटर सडकलाई क्षति पु-याएको बताउँदै सडक नयाँ निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो। उक्त क्षेत्रमा सडकको निर्माण कार्य पूरा भएर यातायातका साधनसमेत सञ्चालन भइरहेका थिए।

सडक निर्माणको जिम्मा पाएको पीएस क्यारावान कङ्ग्री जेभीका प्रतिनिधि छिरिङ लामाले पहिरोले क्षति पु-याएको सडकको मर्मतका लागि आयोजनाले म्याद थप गर्न नमान्दा काम गर्न नसकिएको बताउनुभयो। गत असोजमा पहिरोबाट पुगेको क्षतिलाई लिएर सरकारले हुम्लालगायत कर्णाली प्रदेशका चार जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषित गरेको थियो। लामाले म्याद थपबिना मर्मत गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो। आयोजनाले म्याद थप गरे त्यसै दिनबाट मर्मत गर्न सुरु गर्ने बताउँदै उहाँले म्याद थपका लागि आयोजनामा दुई महिनाअघि निवेदन दिएको बताउनुभयो। 

आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले म्याद थपका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताउनुभएको छ। उहाँले पहिरोले सडकलाई क्षति पु-याएपछि प्राविधिक टोली स्थलगत रूपमा खटाएर सडकको यथार्थ अवस्थाको जानकारी लिइसकेको जानकारी दिँदै उहाँले म्याद थपका लागि विभागमा लेखेर पठाउने बताउनुभयो। उहाँले सडकको बीमासमेत गरेका कारण निर्माण कम्पनीले क्षतिपूर्तिका लागि निवेदनसमेत पेस गरिसकेको बताउनुभयो।

२०७४ सालमा आयोजनाले निर्माण कम्पनी पक्षसँग १७ करोड २१ लाख रुपियाँको लागतमा सम्झौता गरेको थियो। भिगौडा र बोक्चे गौडामा चट्टानी भीर भएको र सो चट्टान विस्फोट गर्नुपर्ने भएकाले निर्माण कार्य सम्पन्न गर्न समय लागेको आयोजनाले जनाएको छ।