• २० असोज २०८१, आइतबार

सातौँ पटक म्याद थप तर ठेकेदार गायब

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस २० गते । रुकुमपश्चिममा पाँच वर्ष पहिले निर्माण सुरु गरिएको एउटा सडकखण्डको म्याद सात पटक थप गरिएको छ। साताैँ पटक म्याद थप भए पनि ठेकेदार सम्पर्कविहीन भएका छन्।

जिल्लाको मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी म्याद थप गरेपछि सम्पर्कविहीन भएको हो। ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पीएच/एसएमएनएस जेभीले जिम्मा लिएको थियो। २०७४ सालमा निर्माण सुरु गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीका कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन एकाइ रुकुमपश्चिमका व्यवस्थापक टङ्कप्रसाद खनालले जानकारी दिनुभयो।

१८ किलोमिटर लामो सडकखण्ड दुई वर्षमा निर्माण सम्पन्न गर्नका लागि सुरुमा निर्माण कम्पनीसँग २०७४ सालमा सम्झौता भएको थियो। समयमै काम सम्पन्न हुन नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले आगामी जेठ ११ गतेसम्म अन्तिम म्याद राखेर सातौँ पटक म्याद थप गरेको आयोजना प्रमुख खनालले जानकारी दिनुभयो। निर्माण कम्पनीका प्रमुख हेमराज गुभाजुसँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको उहाँले बताउनुभयो। ठेकेदारलाई सम्पर्कमा आउन र समयमै काम सम्पन्न गर्न आयोजना कार्यालयले सार्वजनिक रूपमै सूचना प्रकाशन गरेकोसमेत जनाइएको छ।

आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीले भ्याटसहित ८९ करोड ८० लाख रुपियाँको लागतमा शीतलपोखरी–झुल्खेत–चुन्वाङ र बालुवा–नयगाड जामाबगर–त्रिवेणी सडकखण्ड निर्माणका लागि सम्झौता गरेको थियो। हालसम्म सम्झौताको ६७ प्रतिशत भौतिक र करिब ४६ प्रतिशत वित्तीय प्रगति भएको आयोजना व्यवस्थापक खनालले उल्लेख गर्नुभयो। शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको १८ किलोमिटर सडकमध्ये १५.५ किलोमिटर भूभागमा ट्र्याक खोलेर गाडीसमेत सञ्चालन हुने गरेका छन्। जङ्गल र भीरको भूभागमा ट्र्याक खोल्न बाँकी रहेको छ। ठेकेदार कम्पनीले हालसम्म उक्त सडकखण्डको ६ किलोमिटरसम्म बेस कालोपत्रे र १३ किलोमिटर सडकको बेस र नाली निर्माणसम्पन्न गरिसक्नुपर्ने भए पनि काम नै सुरु भएको छैन।

पहिरो, सामग्री ढुवानीको समस्या र कोरोनाको कारण देखाएर ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको थियो। गत असारमा सकिएको म्याद पुनः थप गरेपछि ठेकेदार कम्पनी निर्माणस्थलमा आएको छैन। मुसीकोट नगरपालिका–१० का वडाध्यक्ष धनबहादुर खड्काले तीव्र गतिमा हुनुपर्ने काममा ठेकेदारको लापरबाही भएको बताउनुभयो। सडकको ट्र्याक खोलिएको गलमपाटी गाउँसम्म सदरमुकामबाट वर्षायामबाहेक नियमित गाडी आउजाउ हुने गरेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो। वर्षाको अवधिभर सडकखण्डको विभिन्न भागमा आएको पहिरोले बाटो अवरुद्ध भएको र वडा कार्यालयले आफ्नो खर्चमा बाटो सुचारु गर्नुपरेको उहाँले उल्लेख गर्नुभयो। निर्माणको काम गर्ने बेलामा सो सडकखण्डमा मुख्य ठेकेदारको उपस्थिति नभएको उहाँले जनाउनुभयो।

बाटोको ट्र्याक मात्र खोलेर गाडी चल्दा पनि स्थानीयवासी हर्षित भएका छन्। गाउँको उत्पादन बजारीकरण, बजारमा आउजाउ, खाद्यान्न ढुवानीलगायतका काममा सडक बनेपछि सहज भएको वडा नं. १० का पूर्वअध्यक्ष गोपेश्वर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार उद्देश्य र लक्ष्यअनुसार समयमै सडक निर्माण भएमा यसले जनताको जीवनस्तर उकास्न सहयोग हुनेछ।