• ८ मंसिर २०८१, शनिबार

बालबालिका र वृद्धवृद्धा बढी जोखिममा

यी हुन् जाडोमा शरीरलाई शक्ति दिने खानेकुरा

blog

काठमाडौं, पुस २० गते । काठमाडौं उपत्यकालगायत देशैभरि जाडो बढ्दै गएको छ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाउने, घाममा बस्ने, हिटर, आगो ताप्नेजस्ता उपाय अपनाउने गर्दछौँ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, बालबालिका र वृद्धवृद्धालाई यो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । 

जबसम्म भित्रबाट शरीर तातो हुँदैन बाहिरी रूपमा जाडोबाट बच्न जस्ता उपाय अपनाए पनि न्यानो महसुस गर्न सकिँदैन । जाडोमा शरीर न्यानो बनाउन न्यानो कपडाका साथै खानाले महत्त्वपूर्ण भूमिका खेल्छ । 

पोषणविद् प्रा.डा. उमा कोइरालाले यो मोसममा न्यानो भएर बस्न क्यालोरीयुक्त खानेकुरा खानामा जोड दिनुपर्ने बताउनुहुन्छ । 

उहाँ अनुसार, जाडोमा बाहिरी तापक्रम कम भएका कारणले शरीरको तापक्रम र बाहिरी तापक्रमको बराबरी कायम राख्न क्यालोरीको बढी खर्च हुने भएकाले क्यालोरीयुक्त खाना आवश्यक पर्छ । 

क्यालोरीयुक्त खानेकुरा तापको प्रमुख स्रोत हो र यस्ता खानेकुराले शरीरमा शक्ति प्राप्त गर्न मद्दत गर्ने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ,“यो मौसममा शारीरिक कसरत कम हुने हुँदा यस्ता खानेकुराले मोटोपन बढाउने सम्भावना बढी हुन्छ । त्यसैले क्यालोरीयुक्त खाना खाएपछि शारीरिक कसरतका साथै प्रोटिनयुक्त खानेकुरामा ध्यान दिनुपर्छ ।” 

उहाँका अनुसार भिटामिन सी र एन्टिअक्सिडेन्टयुक्त खानाले शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउने यस्ता खानेकुरा आवश्यक पर्छ । 

जाडोमा कस्तो खानेकुरा खाने 

जाडोमा–दाल, गेडागुडी, फलफूल तरकारी, माछा, मासु, अन्न (चिल्लो समावेश) भएका स्वास्थ्य र सन्तुलित खानेकुरा खान डा. कोइरालाको सुझाव छ । उहाँका अनुसार झोलिलो तातो सुप खानाले शरीरमा तातोपना दिनुका साथै शरीरमा शक्ति प्रदान गर्छ ।  

उहाँका अनुसार, जाडोमा फाइबर, रेसायुक्त खानेकुराजस्तै सागपात, टुसा उमारेका गेडागुडी खान उपयुक्त हुन्छ । यस्ता खानेकुरामा फोलिक एसिड, भिटामिन ‘ए’, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषण तत्त्व पर्याप्त मात्र पाइन्छ । 

पोषणविद्का अनुसार, जाडोमा खानामा चिल्लो पदार्थ भएका खानेकुरा समावेश गर्दा शरीरमा शक्ति प्रदान गर्छ । चासोयुक्त खानेकुराले शरीरका भित्री अङ्गहरूलाई सुचारुरुपमा काम गर्न मद्दत गर्छ । 

उहाँ भन्नुहुन्छ, “जाडोमा हाम्रो शरीरमा चिल्लोको आवश्यक पर्छ । हाम्रो शरीरमा यस्ता भिटामिन हुन्छन् जसले गर्दा चिल्लो प्रदार्थको उपस्थितिमा मात्र काम गर्न सक्छन् । जस्तै भिटामिन ‘ए’, ‘डी’, ‘इर्’ ‘के’ यस्ता भिटामिन चिल्लोको उपस्थितिमा मात्र शरीरभित्र काम गर्छन् ।”

जाडो मौसम भिटामिन ‘सी’ युक्त फलफूल तरकारी खान पोषणविद्को सुझाव छ । त्यसका अलावा मौसमी सखरखण्डा, तरुल पिँडालुजस्ता खानेकुराले शरीरमा शक्ति बढाउने मात्र नभई रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । 

उहाँ भन्नुहुन्छ, “अमिला फलफूल, मौसमी सुन्तला, भोगटे, अङ्गुर जस्ता  फलफूलमा भिटामिन ‘सी’,फाइबर का साथै एन्टिअक्सिडेन्ट पाइन्छ ।”

जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ यसका भिटामिन र खनिजको मात्रा बढी हुन्छ । अदुवा र लसुन हालेर बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्ने उहाँको भनाइ छ ।  

बालबालिका वृद्धवृद्धालाई खुवाउने खाना

जाडोमा बढी प्रभावित हुने समूह भनेको बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस पर्छन् । यो समूह प्रायः घरमा नै बस्ने र शारीरिक कसरत पनि कम हुने हुँदा शरीर नतातेको गुनासो गर्ने गर्दछन् । यस्ता मानिस र न्यानो वातावरण बनाउनका साथै खानेकुरामा विशेष ध्यान दिन पोषणविद्को सुझाव छ । 

डा.कोइरालाले जाडोमा यस्ता मानिसलाई न्यानो बनाएर राख्ने वातावरण बनाउनका साथै रेसादार तातो झोलिलो पदार्थ खुवाउन सुझाउनुहुन्छ । 

दैनिक भान्सामा प्रयोगमा प्रयोग हुने मेथी, जिरा, ज्यानो लङ्, सुक्मेल मिसाए दाल, गेडागुडी, मासुको सुप बनाएर खुवाउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै शरीरमा तातोपनपन दिने उहाँको सुझाव छ । 

कामकाजीका लागि खानेकुरा 

कामको व्यस्तताले कतिपय मानिसले खानेकुरामा हेलचेक्र्याइँ गरेको देखिन्छ । खानामा हेलचेक्र्याइँ गर्दा उहाँहरूलाई पछि गएर दीर्घ रोग लाग्ने, ग्यास्ट्रिकको समस्याले सताउने र अल्सर हुने सम्भावना बढी हुने गर्छ । 

जाडोमा न्यानो भएर बस्न काममाजी मानिसलाई  बेलाबेलामा तातो सुप बनाएर खाना सम्भव नभए पनि कार्यालयमा नै तातो पानीमा मह, अदुवाको धुलो हालेर पिउन डा.कोइरालाको सुझाव छ ।  

खाजा खाँदा पनि विशेष ध्यान दिन उहाँको आग्रह छ । खाजामा चिउरा, तरकारी खाने, मौसमी फलफूल र क्यालोरीयुक्त खानामा ध्यान दिन उहाँको सुझाव छ । चिया कफी धेरै नपिउन उहाँको सुझाव छ । 

जाडोमा चियाकफी कति खाने 

चिया, कफी दिनमा एक दुई कप भन्दा बढी नपिउन डा. कोइरालाको सुझाव छ । उहाँका अनुसार चिया, कफीमा क्याफिन र निकोटिन भन्ने तत्त्व पाइने हुँदा चिया धेरै पिउँदा शारीरिक साथै मानसिक समस्या उत्पन्न हुन्छ । 

उहाँ भन्नहुन्छ, “चिया कफीमा क्याफिन र निकोटिन हुने हुँदा यो पिउना साथ एक किसिमको फुर्ती अथवा ऊर्जा आएको जस्तो अनुभव हुन्छ ।” चिया, कफी खाँदा एक प्रकारको लागू प्रदार्थको नसाजस्तो लत लाग्ने डा. कोइराला बताउनुहुन्छ । 

चिया कफी खाने बानी परेपछि त्यो समयमा चिया कफी खाना नपाएमा टाउको, दुख्ने दाँत दुख्ने छटपटी, चिटचिट हुनेजस्ता समस्या देखिने डा. कोइरालाको भनाइ छ । 

त्यसका अवाल चिया धेरै खाँदा रगतमा भएको पोषण तत्त्व सोच्ने हुँदा पाचन प्रणालीमा समेत समस्या निम्तने चिकित्सक बताउँछन् । 

डा. कोइरालाका अनुसार कालो चियाले भन्दा दूध हालेको चियाले कतिपय मानिसलाई ग्यास्ट्रिकको समस्या निम्तन्छ । त्यसैले दैनिक एक दुई कप भन्दा बढी चिया वा कफी नखानु राम्रो हुन्छ । 

भिटामिन डिको कमीले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने हुँदा दैनिक आधा घण्टा शरीरको भाग देखिने गरेर घाममा बस्न डा. कोइरालाको सुझाव छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।