• २० असोज २०८१, आइतबार

हुस्सुका कारण हवाई उडान प्रभावित

blog

अविनाश चौधरी

धनगढी, पुस १७ गते । सुदूरपश्चिम प्रदेशमा नियमित सञ्चालनमा रहेको एकमात्र धनगढी विमानस्थलमा आइतबार हवाई उडान प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित भएको हो । 

हुस्सुका कारण भिजिबिलिटी कम भएपछि हवाई उडान सेवा नियमित हुन नसकेको धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा उडानबाहेक अन्य समयमा अरु उडान हुन सकेको छैन । साढे १२ बजे श्री एयरलाइन्सको एउटा उडान भएको थियो । ‘त्यसपछि अरु उडान भएको छैन’ प्रमुख भट्टले भन्नुभयो । 

मध्यान्हमा उडान भरेको श्री एयरलाइन्सको जहाज धनगढी विमानस्थलमै ‘नाइट स्टे’ गरेको जहाज हो । मौसम खराबका कारण सो जहाजले बिहान उडान भर्न नसकेको जनाइएको छ । काठमाडौंबाट धनगढी आउने जहाज भने मौसम खराबीका कारण आउन नसकेको प्रमुख भट्टले बताउनुभयो । 

धनगढी विमानस्थलमा दैनिक आठ वटा उडान हुने गर्छ । श्री एयरलाइन्सले दैनिक चार, बुद्ध एयरले तीन र सौर्य एयरलाइन्सले एक वटा उडान भर्ने गरेको जनाइएको छ । बुद्ध एयरलाइन्सले विहानको उडान स्थगित गरेको भट्टले जानकारी दिनुभयो । ‘दिउँसोसम्म पाँच वटा उडान हुने गर्दछ’ उहाँले भन्नुभयो, ‘तर एउटाबाहेक अरु उडान हुन सकेन ।’ 

केही दिन यता, कैलालीसहित तराईमा हुस्सु लागिरहेको छ । आइतबारदेखि अझ बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित भएको हो । हुस्सुका कारण उडान प्रभावित भएपछि यात्रुले सास्ती भोगेका छन् । केही दिन अगाडि मात्रै पनि हुस्सुका कारण धनगढी विमानस्थलमा उडान प्रभावित भएको थियो ।