• १३ साउन २०८१, आइतबार

नारच्याङको अन्न भण्डार आकाशे पानीको भर

blog

सिँचाई सुविधाबाट वञ्चित नारच्याङको लेक गाउँ स्थित समथर भूभागमा फैलिएको स्वारको फाँट । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँस्थित स्वाँरको फाँटमा सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । समथर भूभागमा फैलिएको यो फाँटलाई स्थानीयहरूले नारच्याङको अन्न भण्डारका रूपमा लिने गर्दछन् ।

अन्न र नगदे बाली हुने राम्रो सम्भावना भएको यो फाँट सिँचाइ सुविधाबाट वञ्चित छ । सिँचाइ अभावमा राम्रो उत्पादन लिन नसक्दा यहाँका स्थानीयहरू आयातित खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता छ । नारच्याङको बेँसी र लेक गाउँका अधिकांश स्थानीयहरूले यो फाँटमा अन्नबाली लगाएर आफ्नो गुजारा चलाउँदै आएका छन् । यहाँ आलु खती राम्रो हुन्छ । नारच्याङको आलु बजारमा लोकप्रिय छ । सिँचाइ सुविधा हुने हो भने धानखेती पनि राम्रो हुने स्थानीयहरू बताउँछन् । वर्षमा तीन खेतीसम्म गर्न सकिने यो फाँटमा सिँचाई नहुँदा हिउँदको समयमा जमिन त्यसै बाँझो रहने गर्दछ । 

करिब ६०० सय रोपनी क्षेत्रफलमा फैलिएको फाँटमा कोदो,फापर,जौ,आलु,गैया,प्याज र मकै खेती राम्रो हुन्छ । खेतीयोग्य फाँट भए पनि सिँचाई नहुँदा पर्याप्त मात्रामा उत्पादन लिन नसकिएको स्थानीय किसान तथा वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । सिँचाइ सुविधा पुर्‍याउन सकिए नारच्याङ गाउँलाई नै वर्ष भरी उपभोग गर्ने अन्नबाली उत्पादन गर्न सकिने पुर्जाले बताउनुभयो । 

सिँचाइका लागि चार किलोमिटर टाढा रहेको लहरेनी खोला र कालो खोलाबाट पानी ल्याउनुपर्दछ । फाँटदेखि पानीको स्रोत टाढा भएकाले सिँचाइ योजनाका लागि ठूलो रकम आवश्यक पर्ने पुर्जाले बताउनुभयो । 

कालिगण्डकी कोरिडोर क्षेत्रमा यत्तिको खेतीयोग्य जमिन छैन पुर्जाले भन्नुभयो ‘यो फाँट नारच्याङवासीको अन्न भण्डार हो,सिँचाइ सुविधा पुर्‍याउन सके कृषि खेतीबाट राम्रो आम्दानी लिन सकिन्थ्यो । सिँचाइ नहुँदा खडेरी पर्दा लगाएको बाली पनि सुकेर जान्छ ।’  

फाँटमा सिँचाइ ल्याउन पालिकाको बजेटले सकिँदैन वडा अध्यक्ष लोकबहादुर फगामीले भन्नुभयो ‘प्रदेश तथा  सङ्घीय सरकारको योजना आवश्यक पर्दछ । त्यहाँसम्म हाम्रो पहुँच पुग्दैन ।’ वडाले प्रदेश र सङ्घ सरकारसमक्ष सिँचाइ योजनाका लागि बजेट माग गर्न पहल गरिने वडाध्यक्ष फगामीले बताउनुभयो ।