• १२ असोज २०८१, शनिबार

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु, एक घाइते

blog

लीला झापाली

बिर्तामोड, पुस १७ गते । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ  भने उनका श्रीमान् गम्भीर घाइते बनेका छन् । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।

आइतबार बिहान साढे २ बजे जङ्गली हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी  भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।

घाइते अवस्थाकी कृष्ण माया लाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् शान्तिराम पनि गम्भीर घाइते हुनुभएको छ । रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलबाट आहाराका लागि जङ्गलबाट हात्ती गाउँ पसेका थिए । केही दिनदेखि शिवसताक्षी नगरमा हात्तीले मानिसको जनधनको क्षति गर्न थालेको छ ।

एउटा छावा सहित ४ वाटको समूहमा रहेको हात्तीले राति ११ बजेदेखि नै गाउँमा उपद्रो गर्न लागेको स्थानीयको भनाई छ  । आहाराका लागि छावा भण्डारण गरिएका अन्न खान घरभित्र पस्ने र माउ हात्तीले छावालाई घर बाहिर निकाल्दा घर भत्काउने गरेको स्थानीयको भनाई छ । हात्तीले अन्य एक जना छिमेकीको समेत घर भत्काएको छ ।  जङ्गली हात्तीको समूह अहिले पनि शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बजारमा रहेको इलाका प्रहरी कार्यालय  झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले गोरखापत्रलाई जानकारी दिनुभयो ।