• १२ असोज २०८१, शनिबार

न्यानो खोज्दै झरे भेडीगोठ

blog

गाईघाट समाचारदाता

गाईघाट, पुस १७ गते । चिसो बढेपछि हिमाली क्षेत्रबाट चरनका लागि तल झारिएका भेडीगोठ आजभोलि उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा राखिएको छ। 

पूर्वी नेपालको भित्री मधेस र महाभारत शृङ्खलामा अवस्थित उदयपुर जिल्लामा जाडोको मौसम सुरु हुनासाथ माथिल्लो सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबाट हरेक वर्ष चरिचरनका लागि भेडीगोठहरू उदयपुर ल्याउने गरिन्छ। 

सात सय भेडाका मालिक ओखलढुङ्गाको सिध्दिचरण नगरपालिका–५, रुम्जाटारका दुर्गाबहादुर गुरुङले जाडो मौसममा हिमाली क्षेत्रमा चिसो हुने गरेकाले उदयपुरको पहाडी क्षेत्रमा मङ्सिर महिनाको पहिलो सातादेखि भेडीगोठ झारिएको बताउनुभयो। 

उदयपुरमा सामुदायिक वन क्षेत्रमा निश्चित मात्राको राजस्व तिरेर भेडीगोठ राख्ने गरेको भन्दै उदयपुर जिल्लाको कटारी नगरपालिका तथा ताप्ली, लिम्चुङ्बुङ उदयपुरगढी गाउँपालिका क्षेत्रभित्रका तावाश्री, सिरिसे, लिम्पाटार, ओख्ले, नामेटार, आँपटार, लेखानी, हर्देनीलगायतका उच्च पहाडी क्षेत्रको नागी डाँडामा गोठ सार्ने गरिएको गुरुङले बताउनुभयो।

हिउँदमा जन्मेका भेडाका पाठापाठी धेरै सङ्ख्यामा यतै बिक्री हुने र बाँकी रहेका ओखलढुङ्गाको रुम्जाटारमा लगेर बेच्ने गरेको अर्का भेडी गोठाला चन्द्रबहादुर गुरुङले बताउनुभयो। “उदयपुरका सामुदायिक वनका पदाधिकारीले मनपरी पैसा लिएर दुःख दिने गरेको भन्दै उहाँले एउटा सामुदायिक वनले चारदेखि पाँच हजारसम्म लिने गरेको तर वन विनासका कारण विगतको जस्तो चरन क्षेत्र प्रसस्त नभएकोले भेडा चराउन निकै कठिन हुन थालेको गुरुङको भनाइ छ। त्यसो त भेडा गोठालालाई जसले खाने बस्ने प्रबन्ध गर्छ उसैको बारीमा भेडाको बास राखिदिने चलन पनि छ। यसो गर्दा पहाडी क्षेत्रका कतिपय किसानहरूले आफ्नो जग्गामा बास राख्न दिने गरेको र यसबाट किसानको बारीमा भेडाको मलले गर्दा अन्नबाली सप्रिने गरेको स्थानीय शिक्षिका इन्दिरा रानाले बताउनुभयो। 

खासगरी उच्च पहाडी भेगमा प्रशस्त पाइने कालो बन्मारा, अम्लिसो र अन्य प्रजातिका वनस्पतिको बाक्लो झाडी नै भेडाको आहारा भएकोले दिनभर जङ्गलमा चराउने र रात परेपछि गाउँलेहरूले बस्न दिएको बारीमा र नदिएको अवस्थामा खर्कमा लगेर बास राखिने भेडी गोठाला चन्द्रबहादुरले बताउनुभयो।