• ९ मंसिर २०८१, आइतबार

हाइस पल्टिँदा एकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, पुस १६ गते । कैलालीमा शनिवार हाइस अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र. ०२००१ ज ४०६ नम्बरको हाइस आफै अनियन्त्रित भइ गौरीगंगा नगरपालिका –६ बनबेहडास्थित पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भइ नालीमा पल्टिँदा लम्की–चुहा नगरपालिका –१ का ७३ वर्षीय कर्मा प्याकुरेलको मृत्यु भएको हो । 

दुर्घटनामा परी घाइते उहाँको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार मृतक प्याकुरेलको टाउकोमा गहिरो चोट लागेको थियो । 

दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था मध्यम र दुई जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । घाइते कञ्चनपुरको वेदकोट नगरपालिका –१० का २९ वर्षीय मुकेश रानाको निधारमा चोट लागेको छ । 

यसैगरी, कञ्चनपुरकै भीमदत्त नगरपालिका –३ का ३१ वर्षीय रुद्रबहादुर गुरुङको टाउकोमा, कैलालीको जानकी गाउँपालिका –४ का ३७ वर्षीय रामबेलासे रावतको हातमा चोटका लागेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

त्यस्तै, रावतकी श्रीमती ३५ वर्षीया अञ्जली रावतको टाउको र बायाँ खुट्टामा हात लाग्दा अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।