• ८ मंसिर २०८१, शनिबार

‘तमु ल्होसार’को रौनक

blog

काठमाडौँ, पुस १६ गते । महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो लगाएर सजिएका थिए भने पुरुष टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचमा व्यस्त थिए। गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ चाड शुक्रबार धुमधामसँग मनाएका छन्। 

तो ल्हो (बाघ वर्ग)को बिदाइ हि ल्हो (बिरालो वर्ग)को स्वागत गर्दै विभिन्न झाँकी निकालिएको थियो। तमु ल्होसारका अवसरमा आयोजित झाँकीसहितको ¥यालीको अनुगमनमा खट्नुभएका मनबहादुर गुरुङले घाटुको थुप्रै प्रकारमध्ये बाह्रमासे घाटु सार्वजनिक समारोहमा प्रदर्शन गर्नेक्रममा किशोरीले घाटु नृत्य प्रस्तुत गरेको जानकारी दिनुभयो। परापूर्वकालदेखि अभ्यास गर्दै आएको सांस्कृतिक संस्कार, कला, वेशभूषाको गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार २०७९’का अवसरमा समुदायको परम्परा झल्केको थियो। 

घ्याब्रिङ, लामा, बोन्बोहरू आ–आफ्ना बाजा, पहिरनमा सहभागी थिए भने केर्गा नाच, घाटु, सोरठी, कौडा, चुट्का, कौडा, झ्याउरे र अर्घाैं नाचसमेतको प्रस्तुति रहेको थियो। ‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो। गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो। 


तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो चाड मनाइन्छ। उहाँले भन्नुभयो, “तमु ल्होसार’ चाड सूर्यका किरणसँग सम्बन्धित हुन्छ। गुरुङले यस वर्ष हि ल्हो (बिरालो वर्ग) मनाउने भएको छ। हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको संयोजक गुरुङले जानकारी दिनुभयो। 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस चाडको महत्व रहेको उहाँले जानकारी दिनुभयो। टुँडिखेलमा मौलिक वेशभूषामा रमाइरहनुभएका सुनीता गुरुङले यो दिन धेरै विशेष भएको जानकारी दिँदै भन्नुभयो, “यो दिनमा ‘स्यो कैँ’ तमु ल्होसारका दिन गुरुङ समुदायमा विशेषप्रकारको खाना खाइन्छ। स्यो कैँको अर्थ सहभोज भन्ने हुन्छ। तसर्थ यो खाना तमु ल्होसारको दिन समूहमा बसेर खाने गरिन्छ। उहाँले स्यो कैँ कुनै एउटा खाना नभई, सबैले पैसा उठाएर खाइने सामान्य खाना हो। 

पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैँ खाने गरिने पनि उहाँले जानकारी दिनुभयो। यसभित्र मासु–भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन्। यीबाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिङ्गा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिने बताउनुभयो। 

समाजका अध्यक्ष गुरुङले समुदायका सबै मानिस एकै ठाउँमा भेला भएर मनाउने भएकाले तमु ल्होसारलाई एकताको चाडसमेत भनिने बताउनुभयो। उहाँले प्राचीन तमु प्यो शास्त्रमा तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको कथन पाइने जानकारी दिँदै भन्नुभयो, “ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामो हुँदै जान्छन्। सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ। 


ल्होसारको अघिल्लो साँझदेखि नै पूजापाठ, भोजभतेर, नाचगान गरी आधारातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। बिहानैदेखि आफन्त भेटघाट र शुभकामना आदानप्रदान गरिन्छ। नाता–कुटुम्बलाई बोलाएर भोज खुवाएर नाचगान गरी धुमधामसाथ यो चाड मनाइन्छ। समाजका अध्यक्ष गुरुङका अनुसार रातिको समयमा प्रधान पुरुषले सूर्य अस्ताएको दिशातर्फ फर्किएर धनुषवाण हानी पुरानो वर्षलाई बिदाइ गर्छन् भने पूर्वतर्फ नयाँ वर्षलाई स्वागत गर्दै बिहानीपख ल्हो नराम्रो नहोस् भन्ने कामना गरी जन्तर बाँध्ने चलन रहेको जानकारी दिनुभयो। 

यो चाड नेपाल, भारतलगायत संसारभर छरिएर रहेका गुरुङ जातिले धुमधामसाथ मनाउने गर्छन्। नेपालको उत्तरी भेगमा बसोवास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा तिब्बतियनलगायत बौद्ध धर्म मान्ने समुदायले ल्होसार चाड मनाउने गर्छन्। तमु, तोल, सोनाम र ग्याल्पो गरी चार सम्प्रदायका ल्होसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ।