• १ चैत २०८१, शुक्रबार

मनाइयो होली

blog

भक्तपुर, चैत १ गते । ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला...’ भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होलीपर्व बिहीबार मनाइएको हो । विशेष गरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा बेग्लै रौनक देखिन्थ्यो । 

फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आआफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकापसमा अबिर दलेर टोल छिमेक परिक्रमा गरी मनाउने गर्छन् ।

वसन्त ऋतुको आगमनसँगै रुखबिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागुपर्वमा यौन रसयुक्त गीत प्रचलनमा आएको संस्कृतिविद् हरिराम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार १७ औँ शताब्दीदेखि यस्तो चलन चलेको हो । कृषि पेसामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौन रसयुक्त सङ्गीत गुञ्जने गरेको उहाँको भनाइ छ ।

युगौँदेखि मनाइँदै आएको फागुपर्वलाई अहिलेका युवापुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागुपर्व सामाजिक विकृतिका रूपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गीविरङ्गी रङ एकआपसमा लगाएर वातावरणलाई नै रङ्गिन बनाई मनाइने फागुपर्वमा युवापुस्ताले उच्छृङ्खल क्रियाकलाप गर्दा त्रासको पर्वमा परिणत भएको संस्कृतिकर्मी श्रेष्ठले बताउनुभयो । 

यसै गरी राजधानीको वसन्तपुरमा होलीपर्व मनाएका छन् । धलासिक्वका मानन्धर समूहले परम्परा अनुसार नागर्जुन वनबाट ल्याइएको हरियो बाँसमा रङ्गीविरङ्गी ध्वजासहित चीर ढालेपछि होली सम्पन्न हुने गरेको छ । हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर ढालेको छ । चीरका लागि पशुपति श्लेषमान्तक वनबाट मयलका रुखका हाँगा ल्याइएको थियो । बिहीबार मध्यरातमा ढालेपछि पर्व समापन भएको छ । यो बिचमा गुरुमापा नामका राक्षसका लागि टुँडिखेलमा एकमुरी भात र एउटा सिङ्गो राँगोको भतेर लगाइने प्रचलन छ । इटुम्बहालको केशचन्द्रकृत परावर्त महाविहारको बासङ्घमा भात र मासु पकाउन चुलो तयार भएको सङ्घका प्रेमकाजी शाक्यले जानकारी दिनुभयो ।

किलागल टोलका बिज्यापू समुदायबाट यो भोजन तयार हुने र खर्पनमा राखेर कतै नरोकी काँधमा बोकेर भतेर टुँडिखेल लैजाने प्रचलन छ । भगवान् श्रीकृष्णको गोपिनीसँगको सान्निध्यताको प्रसङ्ग चीरसँग जोडिएको छ । श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्दा रतिदेवको अर्चना भएपछि फाल्गुन शुक्ल अष्टमीमा चीर गाडेर भगवान् श्रीकृष्णको गोपिनीसँगको प्रेमभावको संस्मरण गर्ने प्रचलन यो पर्वसँग छ । 

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।