• १३ साउन २०८१, आइतबार

विज्ञको गाउँ बिरानो

blog

मुलुकका अधिकांश गाउँ यतिबेला सुनसानजस्तै छन् । गाउँका उर्वर पाखाबारी पनि बाँझै छन् । गाउँ र पाखाबारी मात्रै होइन गाउँमै जन्मेर पनि देशको महìवपूर्ण ओहोदामा पुग्नेका गाउँघर पनि सुनसान छन् । यहाँ प्रसङ्ग उठाउन खोजिएको बैतडीको हो । नेपालको विकास प्रशासनका ज्ञाता, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, देश विदेशमा नाम चलेका विशेषज्ञ डाक्टर, इन्जिनियर, न्यायाधीश, राष्ट्रिय अनुसान्धानका निवर्तमान प्रमुख, संयुक्त राष्ट्रसङ्घ (न्युयोर्क) का पूर्वराजदूतलगायत दर्जनौँ राष्ट्रसेवक जन्माएको छ बैतडीले । उक्त जिल्लाको एउटा वडाको पूरै गाउँ अहिले सुनसान र खण्डहर बनेको छ । 

दशरथ चन्द नगरपालिका–५, पल्लाचौडालीले जन्माएका प्रतिभाको सूची यो भन्दा अझै लामो छ । न्युयोर्कका पूर्व राजदूत उद्धवदेव भट्ट, म्यानमारका पूर्वराजदूत डाक्टर दिव्यदेव भट्टको बैतडीको पल्लचौडालीस्थित पुख्र्यौली घर सुनसान छ यतिबेला । 

नेपालको विकास प्रशासनका ज्ञाता मानिने डाक्टर भीमदेव भट्ट, वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्ट, किड्नी रोग विशेषज्ञ डाक्टर अर्जुनदेज भट्ट, त्रिभुवन विश्वविद्यालयमा ३२ वर्ष अङ्ग्रेजी विषयका प्राध्यापक स्व.आनन्ददेव भट्ट, राष्ट्रिय अनुसान्धानका निवर्तमान प्रमुख अशोकदेव भट्टको घरको अवस्था पनि उस्तै छ । सबैका घरमा ताल्चा लगाइएको छ । घरका झ्यालढोका मक्किएर लेउ लागेको अवस्थामा छन् । 

 नेपालको विकास प्रशासनका ज्ञाता मानिने भीमदेव, डाक्टर अर्जुनदेज र प्राध्यापक आनन्ददेव एकैघरका सहोदर दाजुभाइ हुुनुहुन्छ । उहाँहरूको घर पनि खण्डहर बनेको छ ।

भीमदेवको घरको हेरचाह गरिरहेकी छिमेकी भुवनेश्वरी लेखक उहाँहरू जस्तो विद्वान् मान्छे फेरि कहाँ जन्मेलान र (!) भन्दै विज्ञहरूको नाम सुन्दा श्रद्धाभाव प्रकट गर्नुहुन्छ । 

दशरथ चन्द नगरपालिका वडा नम्बर–५, पल्लाचौडालीले देशका लागि विज्ञ जन्मायो भने वडा नम्बर–५, कै बस्कोटले देशमा प्रजातन्त्र ल्याउन ज्यानको आहुति दिनुहुने अमर शहीद दशरथ चन्द जन्माए पनि अहिले यो वडा र गाउँ खण्डहर बन्दै गइरहेको छ । 

विज्ञका नाम सुन्दा श्रद्धाले शीर निहुराउने बैतडीवासी पछिल्लो समय उहाँहरूको गाउँको अवस्था देखेर निराश बनेको दशरथ चन्द नगरपालिका–५, का युवा तेजराम लोहारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बैतडीले महान् शहीद दशरथ चन्द जन्मायो । प्रधानमन्त्री लोकेन्द्र्रबहादुर चन्ददेखि विकास प्रशासनका ज्ञाता भीमदेवजस्ता हस्ती जन्मायो । नास्टका वैज्ञानिक डाक्टर भोजराज पन्त पनि बैतडीले सम्झिरहने नाम हो । 

आजको नेपालको विकास प्रशासन भीमदेवकै सुझावअनुसार चलिरहेको छ तर उहाँहरू जन्मेको गाउँ र जिल्लाको अवस्था त्यस्तो छैन । यो सबै प्रतिभा पलायनको समस्याले निम्त्याएको हो । 

गाउँको विकासको खाका कोरिरहेका बैतडीका १० वटा स्थानीय तहले पनि उहाँहरूजस्तो विज्ञलाई बोलाएर विकाससम्बन्धी बहस चलाउन सकेको छैन आजसम्म । विज्ञहरूले आफ्नो जिल्लाका लागि समय दिनुहुन्छ भन्ने कुरामा बैतडीबासी आशावादी भए पनि स्थानीय तहले चासो दिएका छैनन् । 

प्रतिभा पलायन हुने जिल्लामध्ये बैतडी अग्रस्थानमा रहेको केही तथ्याङ्कले देखाएको छ । २०५४ सालमा २० हजार जनसङ्ख्या समेटेर गठन भएको देशका पुराना ५८ मध्ये बैतडीको दशरथ चन्द नगरपालिकाको जनसङ्ख्या २०७२ मा आइपुग्दा घटेर १६ हजारमा झ-यो । 


२०५४ सालमा २० हजार जनसङ्ख्या समेटेर जिल्लाको सदरमुकाम रहेको खलङ्गा गाउँ विकास समितिलगायत अन्य पाँचवटा गाविस (दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालिगाडा र जगन्नाथ) मिलाएर २०५४ सालमा दशरथ चन्द नगरपालिका गठन गरिएको थियो । स्थानीय तहको पुनर्संरचना हुँदा वि.सं. २०७३ मा गाउँपालिका भन्दा पनि कम जनसङ्ख्या भएपछि साबिकको गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, नागार्ज‘न गाविस र दुर्गास्थान गाविसका तीनवटा समेटेर दशरथ चन्द नगरपालिकाको साख जोगाउनुपर्ने अवस्था सिर्जना भएको तथ्याङ्क छ । 

नगरपालिका जोगाउन नयाँ समेटिएका साबिकका गाविससहित हाल ११ वडामा विभाजित दशरथ चन्द नगरपालिकाको कुल जनसङ्ख्या (२०६८ सालको जनगणना अनुसार) ३४,५७५ रहेको छ । यहाँ कुल सात हजार २५७ घरधुरी रहेका छन् । 

नगरपालिकाले गणनामा सात हजार घरधुरी उल्लेख गररिएको भए पनि प्रतिभा पलायन र अवसरको खोजीमा बसाइँसराइका कारण अधिकांश घर जीर्ण अवस्थामा रहेका छन् । 

देशको सेवा गर्ने विज्ञहरू जन्माउने पल्लाचौंडालीमा दलित समुदायको भने जनसङ्ख्या र घरधुरी सङ्ख्या बढेको पाइएको छ । जीर्ण बनेका पूर्वप्रशासक र विज्ञहरूको घरको रेखदेख गर्ने जिम्मेवारी दलित समुदायको काँधमा पुगेको छ । 

पञ्चायतकालका चर्चित नेता मानिने स्वर्गीय जयदेव सुब्बाको घरको रेखदेख अहिले स्थानीय दलितले गरिरहेको स्थानीय दलित अगुवा राजेन्द्र लोहारले बताउनुभयो । 

पल्लाचौडालीका स्थानीय राजेन्द्र लोहारले दलितको करिब दुई सय परिवार रहेको बताउनुभयो । अधिकांश दलितसित बस्ने राम्रो घरसमेत नभएकाले टहरो बनाएर बस्नुपर्ने अवस्था रहेको लोहारले बताउनुभयो । बस्ने घर नभएका केही दलितले बस्ने ठाउँ पाएको उहाँले बताउनुभयो । 

बसाइँसराइ गर्न दलितसँग पुँजी नहुँदा गाउँमै थन्किनु परेको दलित समुदायको गुनासो छ । विद्वान् मान्छेले गाउँ छोडेर गएपछि पल्लाचौडालीमा जातीय विभेद कायमै रहेको दलितको गुनासो छ । सम्मानित व्यक्तिको घरको जिम्मा पाए पनि बाँकी रहेका कथित ठालुबाट आफूहरूलाई बेलाबेलामा अपमानित गर्ने गरेको उनीहरूको कथन छ ।

अवसर पाउने बसाइँसराइ गरेर गए, अवसर नपाउने मात्र गाउँमा बस्नुपर्ने अवस्था आएको अर्का स्थानीय युवा गणेश लोहारले बताउनुभयो । बसाइँसराइ गरेर जाने विद्वान्हरू गाउँमा आउँदा जातीय विभेद नहुने तर उहाँहरू गएपछि गाउँमा बसेका अन्य गैरदलितले दलितमाथि जातीय विभेद गर्ने गरेको दलितको गुनासो छ । 

गाउँ फर्किन तयार छौँ : विज्ञ 

स्थानीय तहले बसाइँसराइको प्रक्रिया सुधार गर्ने नीति बनाए गाउँको विकासबारे बहस गर्न गाउँ फर्कन तयार रहेको दशरथ चन्द नगरपालिका–५, का विज्ञहरूले बताएका छन् । 

त्रिभुवन विश्व विद्यालयअन्तर्गतको सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुका वनस्पति सङ्कायका सहप्रध्यापक डाक्टर मानदेव भट्टले आफ्नो गाउँको विकासका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको नीतिलाई खुलेर सहयोग गर्ने बताउनुभयो । तर स्थानीय तहका जनप्रतिनिधिले कुनै समन्वय नगरेको उहाँले बताउनुभयो । 

गाउँको विकासका लागि स्थानीय तहले बसाइँसराइ प्रक्रियामा सुधार, गाउँमै स्वरोजगारका नीति, गाउँका विद्यालयमा सीपमूलक प्राविधिक शिक्षा, मौसमअनुसारको फलफूल खेती र युवा पलायन रोक्नुपर्ने सुझाव भट्टको छ । बैतडीका स्थानीय तहले गर्ने विकासमा विज्ञहरूलाई उचित सल्लाह दिन र सहकार्य गर्न कुनै समस्या नरहेको डाक्टर भट्टले बताउनुभयो ।