प्रकाशविक्रम शाह/अविनाश चौधरी
धनगढी, पुस १५ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
ज्येष्ठ प्रदेश सभा सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउनु भएको हो । त्यसभन्दा अगाडि ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनु भएको थियो ।
उहाँलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्ट, निवर्तमान सभामुख अर्जुनबहादुर थापा, भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री विनीता चौधरी लगायतको उपस्थिति थियो ।
नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभाका सदस्यले प्रदेश सभा वा त्यसको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
प्रदेश सभा सचिवालयका अनुसार शपथ ग्रहण समारोहमा सबै प्रदेश सभा सदस्यको उपस्थिति थियो । छ जना प्रदेश सभा सदस्यले आफ्नो माृतभाषा थारु भाषामा शपथ ग्रहण गर्नुभएको छ ।
शपथ ग्रहण समारोहमा उपस्थित प्रदेश सभा सदस्यहरुले आफ्नो समुदायको पहिचान झल्किने मौलिक पहिरन लगाउनुभएको थियो ।